२० जेठ, जनकपुरधाम । प्रतिनिधि सभाको अवरोध हटाउन सभामुख देवराज घिमिरेले सक्रिय गृहकार्य जारी राख्नुभएकाे छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दलहरू गृहमन्त्रीको राजीनामा माग गर्दै सदन चल्न नदिने अडानमा छन्।
सदनको गतिरोध हटाउन सभामुख घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गर्नुभएकाे छ। त्यसपछि एमालेका मुख्य सचेतक महेश बर्तौला र नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग पनि छलफल जारी रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ।

यसैबीच, विपक्षी दलहरूको आन्तरिक बैठकसमेत हाल जारी छ। बिहान ११ बजेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन।