१० असार जनकपुरधाम । मधेश प्रदेशका चर्चित कलाकार अभिनास झा उर्फ ‘कलकतियाबाली’की पत्नी अंशा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्।
गत माघ महिनामा मात्र अन्तरजातीय विवाह गरेका झा दम्पतीले हालै धार्मिक विधिपूर्वक गृह प्रवेश गरेका थिए। सामाजिक सञ्जालमा उनीहरू खुसी देखिए पनि सोमबार राति जनकपुरधाम–१२ र २० को सीमामा पर्ने नोचापुरस्थित घरमा अंशा सदा मृत भेटिएको घटनाले सबैलाई स्तब्ध बनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार सोमबार राति करिब ९:३० बजे अंशा सदा झुन्डिएको अवस्थामा फेला परेकी हुन्। सलको पासो लगाएको अवस्थामा शव फेला परेको बताइएको छ।

प्रहरीले घटनास्थलमा अंशाको माइती पक्ष समेत उपस्थित भइसकेको र आवश्यक कानुनी प्रक्रिया तथा मुचुल्का तयार गर्ने काम अघि बढाइएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा आत्महत्याको आशंका गरिएको भए पनि, पोस्टमार्टम र थप अनुसन्धानबिना हत्या वा आत्महत्या भनेर निष्कर्ष निकाल्न नसकिने प्रहरीले स्पष्ट पारेको छ। नोचापुरस्थित घर उनीहरूको सुटिङ स्थल पनि रहेको जनाइएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।