८ असोज, पोखरा । पोखरामा कुकुर पाल्नका लागि महानगरपालिकामा दर्ता गर्नुपर्ने भएको छ । महानगरले बिहीबारबाट पोखरा ८ नम्बर वडाबाट अनुमतिपत्र वितरण गरेर दर्ता प्रक्रिया सुरु गरेको हो ।
कुकुर पाल्ने, तर पछि छाडा छाड्ने तथा सार्वजनिक ठाउँमै दिसापिसाब गराउँदै हिँड्दा वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया सुरु गरेको पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् । उनले कुकुर पालन दर्ता प्रक्रियाले रेबिजविरुद्धको खोप कार्यक्रमलाई पनि सहज पुग्ने दाबी गरिन् ।
उपप्रमुख गुरुङले कुकुर दर्ता गर्नाले सडकमा छाडा कुकुरको कमी हुने र छाडे कारबाही गर्न पनि सजिलो हुने दाबी गरिन् । दर्ता प्रक्रियासँगै कुकुरलाई ट्याग (चिन्ह) दिइनेछ । जसका कारण कुकुर धनी पहिचान गर्न सजिलो हुने महानगरको भनाइ छ ।
दर्ता भएका कुकुरको विवरण अद्यावधिक गर्न पशु महाशाखाले ताकेता गर्ने र नियमित निगरानीमा राखिने महानगरले जनाएको छ । पोखरा महानगरपालिकाले कुकुर सडकमा छाडा छोड्ने धनीलाई ५ देखि १५ हजारसम्म जरिवाना गर्दै आएको छ ।