२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो सहितको पहिरोमा परेका दुवै बस त्रिशूली नदीमा खसेको आशंका प्रहरीले गरेको छ । ती बसमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान छ ।
घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए ।
यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पुरिएको गणपति डिलक्सको बसमा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ ।
काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए । दुई जना बीच बाटोबाट चढेका थिए । बस किशोर कुमार चौधरीले चलाएका थिए ।
सो बसका यात्रुहरुको विवरणमा पूरा नाम र ठेगाना भने लेखिएको छैन । नन्दन दास, राज पटेल, प्रिन्स जैशवाल र ओकिल खाँको नाम मात्र पूरा लेखेको देखिन्छ ।
यसैगरी नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम, राजकिशोर, शैलेन्द्र लगायतको नामबाट सिट बुक भएको छ ।
नन्दुको नामबाट ५ जनाको सिट बुक भएको देखिन्छ । यसैगरी शन्तु र नवीनको नामबाट ४ जनाको सिट बुक भएको छ । जोरपाटी काउन्टरका लागि ५ सिट छुट्याइएको छ । जोरपाटीबाट चढेका यात्रुहरुको नाम पनि उल्लेख छैन ।
काठमाडौंबाट गौरका लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको एन्जल डिलक्सका दुईवटा बसलाई आज बिहान करिब साढे तीन बजे चितवनको भरतपुर महानगरपालिका–२९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले पुरेको थियो ।
काठमाडौंबाट गौर जाँदै गरेको बसका तीन जना यात्रुहरु भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । अन्य यात्रुहरुको अवस्था अज्ञात छ । घटनास्थलमा खोजी र उद्धार कार्य जारी छ ।
गएराति चितवन पहिरोमा परेर बेपत्ता बनेको एन्जल डिलक्स बस वीरगञ्चबाट चालकसहित २४ जना यात्रु लिएर काठमाडौका लागि छुटेको खुलेको छ । त्यसमा केही यात्रु भारतीय पनि थिए ।
प्रदेश ०३००६ ख १५१६ नं. को सो बसमा बीच बाटोमा यात्रु चढेका थिए वा थिएनन् भन्ने एकीन भइसकेको छैन । सो बस आज बिहान चितवनको सिमतालमा पहिरोमा परेको थियो ।
चालक जवाहिर महतोले हाँकेको उक्त बस वीरगञ्जबाट बिहीबार साँझ ८ बजे काठमाडौंका लागि छुटेको थियो ।
एञ्जल डिलक्सको बा प्र ०३००६ ख १५१६ नम्बरको बसमा सवार चालक दल तथा यात्रुको नाम प्राप्त भएको छ । वीरगंजको प्रतिमाचोकबाट छुट्दा बसले दिएको यात्रुको विवरणमा गाडी साहु, चालक, सहचालकबाहेक २१ यात्रु रहेको बताइएको छ । तीमध्ये ७ भारतीय पनि थिए ।
बस पर्साको रंगपुरबाट काठमाडौँ चल्ने गरेको बताइएको छ । गाडीमा सवारहरुको प्रारम्भिक नाम यस्तो छः
१. बससाहुः राजेन्द्र केसी
२. चालकः नगवाका जवाहिर महतो
३. सहचालक, चौधरी थरका
यात्रुहरु २१ जना
१.अन्सारीजी
२. अरविन्द दुवे
३. सन्तोष (मकालु सैलुन)
४. सुरेन्द्र साह (फलफूल)
५. आवीन्दजी
६. हरिन्द्र पण्डित
७. सुनिल
८. शेहनबाज आलम
९. प्रकाश (पिप्रा)
१०. प्रमानन्द
११. हृदय नारायण राउतसहित ३ जना
१२. सलिम मिया र उनका पत्न्नी जैनबर खातुन (काठमाडौँमा उपचारका लागि हिँडेका)