२७ असार, काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
बिहीबार बसेको पार्टी बैठकले भोलि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
प्रवक्ता डा. शरदसिंह यादवले भने, ‘मधेश प्रदेश सरकार हाम्रो प्राथमिकतामा छ । कांग्रेस र एमालेको समर्थनमा मधेशमा सरकार बनेकाले हामीले केन्द्रमा नयाँ गठबन्धनलाई नै साथ दिने निर्णय गरेका हौं ।’
प्रधानमन्त्री प्रचण्डले भोलि शुक्रबार संसदमा विश्वासको मत माग्ने कार्यसूची छ ।
जनमत पार्टीको प्रतिनिधिसभामा ६ सांसद छन् ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।
जसपा संसदीय दलको बिहीबार बसेको बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत दिने निर्णय गरेको हो । २१ असारमा जसपाले मन्त्रीहरूलाई फिर्ता बोलाएर समर्थन फिर्ताको निर्णय लिएको थियो ।
जबकि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत साथमा २३ वैशाखमा जसपा नेपालका ७ सांसदले अशोक राईको नेतृत्वमा नयाँ दल जसपा गठन गरेका थिए । सरकारकै साथ पाएर दल विभाजन गरेका उनीहरूले तत्काल नयाँ दलको मान्यता पनि पाएका थिए ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आफैं प्रचण्ड सरकारमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री थिए । तर आफू देश बाहिर रहेको बेला सरकारकै आडमा दल विभाजन भएपछि यादवले सरकार छाड्ने निर्णय लिए । ३१ वैशाखमा यादवसँगै वन राज्यमन्त्री दीपक कार्कीले प्रधानमन्त्रीलाई राजीनामा बुझाए । अनि सरकारलाई दिएको समर्थन पनि फिर्ता लिए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले पनि त्यही दिन जसपाबाट प्रदीप यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र हसिना खानलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिदिए ।
जसपाका नवलकिशोर साह सुडी वनमन्त्री थिए । सांसद रञ्जु झालाई मन्त्री बनाउन सिफारिस गरेको थियो । नेताहरूका अनुसार प्रधानमन्त्रीले मन्त्रालय खाली गरेर उनलाई मन्त्री मन्त्री बनाउने आश्वासन समेत दिएका थिए । अर्थात् ७ सांसद भएको जसपालाई तीन मन्त्री र एक राज्यमन्त्री दिन प्रचण्ड तयार थिए ।
तर १७ असारमा दुई ठूला दल कांग्रेस र एमाले मिलेसँगै समर्थन फिर्ता लिन जसपा नै अगाडि सर्यो । २१ असारमै जसपाले पदाधिकारी बैठक राखेर सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ गठबन्धनको पक्षमा उभिने निर्णय लियो । बिहीबार संसदीय दलले पनि प्रधानमन्त्री प्रचण्डलाई भोलि विश्वासको मत नदिने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए ।
उपेन्द्रले पनि दिएनन् साथ
प्रतिपक्षमा पुग्ने पक्का जस्तै भएपछ प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा ब्युँताउन चाहेका छन् । बुधबार मोर्चामा आवद्ध दलहरूको बैठक समेत बोलाएका थिए ।
तर जसपा नेपालका नेताहरू गएनन् । जसपा नेपालका एक नेताका अनुसार तत्काल मोर्चामा जाने सम्भावना पनि छैन । ‘हाम्रो पार्टी फुटाउने, अनि उहाँहरूलाई चाहिएको बेला मोर्चा जगाउँदा हामी किन जाने ?’ नाम उल्लेख गर्न नचाहेका एक नेता भन्छन्, ‘अहिले हामीले त्यो मोर्चाको औचित्य देखेका छैनौं ।’
प्रतिनिधि सभामा जसपा नेपालका ५ सांसद छन् । र भोलिको संसदमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव राख्दा विपक्षमा मत दिने तयारी छ । एक सांसद भन्छन्, ‘औपचारिक निर्णय भोलि संसदीय दलबाट होला ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।
बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षीमा मत दिने निर्णय गरेको सांसद धवलशमशेर राणाले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले भोलि, शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् ।