१७ कात्तिक, काठमाडौं । नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुलेको छ । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी) मा खुल्ला र समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न जंगी अड्डाले आज दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेकाहरुले नेपाली सेनाको वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्न सक्नेछन् । त्यो फाराम प्रिन्ट गरेर १० रुपैयाँको टिकट टाँसेर आफैं उपस्थिति भई दरखास्त पेस गर्नुपर्नेछ ।
अधिकृत क्याडेट पदका लागि दरखास्त दिने उम्मेदवार प्रमाणपत्र वा सो सरह उत्तीर्ण हुनुपर्ने छ । अधिकृत क्याडेट वा स्नातक अधिकृत क्याडेट दुवैका लागि एसएलसी वा एसईई परीक्षामा अनिवार्य गणित विषय लिएको हुनुपर्ने छ ।
दरखास्त पेस गर्ने अन्तिम मिति मंसिर १६ गतेसम्म छ । दोब्बर दस्तुर तिरेर मंसिर १७ गतेदेखि २३ गतेसम्म बुझाउन सकिन्छ ।
दरखास्त दस्तुर एक हजार रुपैयाँ तोकिएको छ । तर समावेशीतर्फ एकभन्दा बढी समूहमा दरखास्त दिएमा प्रत्येक समूहका लागि थप २० प्रतिशतको दरले अतिरिक्त दस्तुर लाग्ने छ । दरखास्त दस्तुर नेपाल बैंक लिमिटेडको काठमाडौंभित्र रहेका कुनै पनि शाखाबाट बुझाउन सकिने नेपाली सेनाले जनाएको छ ।
