३० भदौ, जनकपुरधाम । शनिवार लगायत विदाको दिनहरुमा सरकारी गाडी चलाएर दुरुपयोग गरेको भन्दै बिरोध हुन थालेको छ ।
बिना कुनै पास, बिना कुनै ईजाजत निजी कामका लागि पनि सरकारी गाडीको प्रयोग बढ्न थाले पछि युवा संघ लगायत आम युवाहरुले यसको बिरोध गरेको हो ।
जनताले तिरको करबाट सेवा सुबिधा पाएका सरकारी कर्मचारीहरु निजी प्रयोजनका लागि पनि सरकारी गाडीको दुरुपयोग गर्न थालेपछि बिगत केही शनिवारदेखि युवाहरु स्वस्फुर्त रुपमा सडकमा देखिन थालेका छन । युवाहरुले पछिल्लो शनिवारदेखि विदाका दिनमा बिना काम सरकारी गाडी चलाउनेलाई रोकेर नियन्त्रणमा लिदै ट्राफिक प्रहरीको जिम्मा लगाउँदै आएका छन । नेपालका बिरगंज, बिराटनगर, जनकपुर जस्ता बिभिन्न मुख्य शहरहरुका युवाहरुले सरकारी नम्बर प्लेटका गाडीहरुलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाउने कामको निरन्तरता यस शनिबार पनि दिएका छन ।
उता सरकारी नम्बर प्लेटका गाडीहरुलाई बिदाका दिनमा पनि रोक्न नहुने भन्दै केही सरकारी कार्यालयका प्रमुखहरुले नै आपत्ति जनाएका छन । उनीहरुका अनुसार बिदाका दिनमा पनि अत्यावश्यक सरकारी कामका लागि कर्मचारी हिडेका हु्न सक्ने भन्दै रोक्न नहुने बिचार राखेका छन । यता युवाहरुले सरकारी काम भएकालाई बाधा नपुरयाएको तर सरकारी काम छ भन्दै ढाँट्नेहरुको गाडी मात्र नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउँदै आएको दावी गरेका छन ।
यसरी युवाहरुले गर्दै आएको गाडी घेराउको कार्यलाई लिएर मिश्रित प्रतिकृया आउन थालेको छ । कोहीले बिदाको दिनमा सरकारी गाडी चलाउन उचित नहुने भन्दै आएका छन भने कोहीले यसको बिरोधमा समर्थन पनि गर्दै आएका छन । यसै सम्बन्धमा पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कुमार कर्णले आफ्नो फेसबुक वालमा लेख्नुभएको छ कि – सरकारीको गाडी दुरुपयोग रोक्ने काम प्रहरी ÷ प्रशासनको हो न कि कुनै युवा संघको । छाडातन्त्र बढ्दै । ट्राफिकको कमजोरी होईन र ?