५ माघ, जनकपुरधाम । प्रदेश २ अर्थात अहिलेको मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालको आकस्मिक कक्ष एक जना डाक्टरको भरमा चलेको छ भन्दा अच्चम लाग्न सक्छ ।
पछिल्लो बिहिबार बेलुका करीब ८ बजे एक जनालाई मरन्नासन्न हुने गरी पेट दुखेको थियो । कुनै बिधिबाट पनि पेट दुखाई कम नभएपछि तत्कालै बिरामीलाई जनकपुर स्थित प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा परिवारजनले लिएर गए । त्यहाँ पुगेर डाक्टरलाई आफ्नो बिरामीको अवस्था सुनाउन पालो कुर्नु परेर करीब ५ मिनेट लागेको थियो । कारण थियो बिरामीको चाप, डाक्टरलाई भ्याई नभ्याई थियो ।
चिकित्सकले उक्त बिरामीको बिषयमा सुनेपछि तत्कालै पुर्जी काटेर ल्याउन भने । पुर्जी काटेर ल्याएपछि डाक्टरले पहिलो चरणको औषधि सामाग्री लेखे । त्यसपछि त्यो किनेर पनि ल्याईयो । अब फेरी चिकित्सकको खोजी भयो । यता बिरामी छटपटाईरहेका थिए । उता चिकित्सक अन्य बिरामीलाई उपचार गर्नमा ब्यस्त देखिन्थे । त्यसपछि फेरी ५ मिनेटको प्रयासपछि एकजना अहे.ब उक्त बिरामी नेर आएर उपचार गर्न थाले । यस बिच करीब २५ मिनेट भन्दा अधिक समय खर्च भई सकेको थियो । उक्त अहेबलाई छिटो उपचार गरिदिन आग्रह गर्दा उनले अस्पतालको अवस्था सुनाए । उक्त बिरामीलाई क्यानोला र केही ईन्जक्शन लगाउँदै उक्त अहेब लालु साहले आकस्मिक कक्षमा ५० जनाभन्दा बढी बिरामी रहेको भएपनि एउटा डाक्टर र २ जना अहेबको भरमा बिरामी हेर्नुपर्ने बाध्यता रहेकोले आफुहरुलाई भ्याई नभ्याई भएको र आकस्मिक कक्षमा तुरुन्त उपचार बिरामीले पाउनुपर्ने भएपनि आफुहरुले जति गर्दा नि जनशक्तिको अभावमा उपचार गर्नमा समस्या आएको गुनासो गरे ।
अहेब साहले अगाडि कुरा गर्दै भने अँचल अस्पताललाई प्रादेशिक नाम दिएर प्रदेश सरकारले आफ्नो मातहत त राखे तर चाहिने जनशक्तिको ब्यबस्था नगरिदिँदा हामीलाई उपचार गर्न हम्मे हम्मे परेको छ । बास्तबमा भन्नुपर्दा लालु साहको अस्पताल प्रतिको माया र बिरामीले समयमै उपचार पाउनुपर्ने सोच र भावनाले मलाई छोएको थियो । कारण पेट दुखेर मर्नु न बाँच्नु अवस्थामा रहेको बिरामी म स्वँय (ब्रम्हानन्द ठाकुर) नै थिए । पछि मैले आफ्नो परिचय दिएपछि उनले थपे यो अस्पतालमा सप्तरी, सिरहा, धनुषा, महोतरी, सर्लाही र सिन्धुली सम्मका बिरामी आउने गरेका छन । चाप त्यतिकै छ । तर आकस्मिक कक्षका एक जना डाक्टर र २ जना अहेबले उपचार गर्न गाह्रो हुन्छ । किनकी आकस्मिक कक्षमा आएका बिरामीका लागि एक मिनेट पनि ठुलो हुन्छ र हामीले त्यो समयमा उपचार गर्न सकेनौ भने बिरामीको अवस्थाका बारेमा भन्न सक्ने अवस्था हुदैन ।
उनको कुरा सकिएको के मात्र थियो उनले सबै ईन्जेक्सन मलाई दि सकेको रहेछ । म धेरै प्रश्न गर्ने वा कुरा गर्ने अवस्थामा थिईन । सबै चुपचाप सुनिरहेको थिए । केही छिनमै मेरो अवस्थामा सुधार आयो र मैले उनको कुरालाई पुष्टि गर्न आकस्मिक कक्ष बिस्तारै बिस्तारै हिडेर हेर्न थाले । वास्तबमै आकस्मिक कक्षका सबै बेड बिरामीले भरिएको थियो । मलाई भर्खरै उपचार गरेर गएको साह अन्य बिरामीहरुलाई पुन जाँचिरहेका थिए । करीब ५० भन्दा बढी बिरामीहरु उपचार गराई रहेका थिए भने प्रत्येक १० पन्ध्र मिनेटको अन्तरालमा बिरामीहरु थपिदै थिए ।
अवस्था हेर्दा बेड पनि प्रयाप्त लागिरहेको थिएन । र मेरो घर अस्पतालबाट नजिकै भएकोले र म तत्कालका लागि केही सन्चो महशुस गरेकोले मैले आफ्नो बेड छोड्ने निर्णय गरे । र अहेब लालु साहलाई धन्यवाद दिदै डाक्टरसँग अनुमति लिई सन्चो नभए फेरि फर्कने वाचा लिएर औषधि लेखाएर घर फर्के ।