२० साउन, काठमाडौं । भारतबाट आयातित फूल जफत गरी जलाएको घटनामा संलग्नहरुविरुद्ध मुद्दा चलाइएपछि नेपाली पुष्प व्यवसायीहरुले आन्दोलन सुरु गरेका छन् ।
नेपाली पुष्प व्यवसायीहरुमाथि अन्याय भएको भन्दै फ्लोरिकल्चर एशोसिएसन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
आन्दोलनको कार्यक्रम अन्तर्गत बुधबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा ज्ञापन पत्र बुझाउने र त्यसपछि काठमाडौं प्रहरी परिसर टेकुमा धर्ना दिइने संघका अध्यक्ष मोहन सिलवालले जानकारी दिए ।
भारतबाट अवैध रुपमा पुष्प आयात गरी नेपाली व्यवसायीहरुलाई अप्ठेरो पारेको भन्दै व्यवसायीहरु आक्रोशित छन् । यही साउन १६ गते भारतबाट आयात भएको फूल नेपाली व्यवसायीहरुले नष्ट गरिदिएका थिए ।