२८ असार, वीरगञ्ज । बारा प्रहरीले किर्ते सवारी पास बनाउने उपकरणसहित दुई जनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका- १७ बस्ने २१ वर्षीय जय नारायणप्रसाद जयसवाल र कलैया-३ बस्ने ३० वर्षीय गोपालप्रसाद साह पक्राउ परेका हुन् ।
पक्राउ परेका जयनारायण ना१ज ७२८८ न. को सुमोका धनी उमेशप्रसाद जैसवालको छोरा हुन् भने गोपाल दाइभाइ फोटो स्टुडियो एण्ड जनरल स्टोरका सञ्चालक हुन् ।
उनलाई पक्राउ गरी सोधपुछ गर्दा उनले कलैया-४ स्थित मालपोत कार्यालय अगाडिको दाइभाइ फोटो स्टुडियो एण्ड जनरल स्टोरबाट बनाएको बताएका थिए । पसल खानतलासी गर्ने क्रममा थप तीन थान नक्कली सवारी पास तथा पास बनाउन प्रयोग गरिएका विभिन्न उपकरण फेला परेपछि गोपाललाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
पसलबाट प्रहरीले २ थान पि्रन्टर, एक थान कम्युटर र तीन वटा नक्कली सवारी पास फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिमरा बारामा राखी लिखत सम्बन्धी कसुर (किर्ते मुद्दा) मा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए ।