पोखरामा दुई करोड रुपैयाँ बराबरको तरबुजा उत्पादन तथा बिक्री भएको छ । महानगरपालिका वडा नं १३, २३, ३०, ३२ र ३३ मा खेतीप्रति किसानको आकर्षण बढिरहेको बताउँदै महानगरपालिकाकी कृषि प्राविधिक उमा पुनले यसवर्ष पोखरामा चार सय टन अर्थात दुई करोड रुपैयाँ बराबरको तरबुजा उत्पादन भएको जानकारी दिनुभयो ।
पोखरामा तरबुजाखेती एउटा विकल्पका रूपमा प्रमाणित भएको बताउँदै उहाँले यसले रोजगारी अभिवृद्धिमा पनि महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरामा विगतमा सामान्य परीक्षणका रूपमा मात्र गरिएको तरबुजाखेती यस वर्ष दुई सय रोपनी क्षेत्रफलमा विस्तार भएको छ ।
महानगरपालिकाले किसानलाई बीउ र मलचिङमा सहयोग गरेको छ । यस्तै महानगरपालिकाको सहयोगमा पोखरा–१३ र १४ का किसानलाई प्रेरित गर्न कुँडहरमा शुरू भएको तरबुजाखेतीमा एकीकृत शत्रुजीव व्यवस्थापन (आपीएम) कृषक पाठशाला प्रभावकारी बनेको छ ।
बीउदेखि उत्पादनको बजारीकरणसम्म सहयोग पुर्याउने गरी कृषि प्राविधिकको प्रत्यक्ष निगरानी एवम् स्थलगत प्रशिक्षणका कारण पाठशालामार्फत तरबुजाखेती सम्बन्धमा धेरै कुरा सिक्ने अवसर मिलेको सूर्यचन्द्र कृषक समूहका सहसचिव मिलन अधिकारीले जानकारी दिनुभयो ।