२१ कातिक, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका भित्र कक्षा ११ र १२ अध्ययन गरिरहेका बिद्यार्थीहरुले छात्रबृति पाएपनि त्यस्ता बिद्यार्थीहरुबाट लिईएको रकम कुनै पनि हालतमा फिर्ता नहुने निजी बिद्यालयका संचालकहरुले बताएका छन ।
पालिकाको शिक्षा कार्यबिधी २०७४ मा छात्रछात्राको नामांकन शुल्क, मासिक शुल्क र परिक्षा शुल्क बाहेकको शुल्क लिन पाउने प्रष्ट रुपमा उल्लेख रहेकोले लिईसकेको शुल्क कुनै पनि हालतमा फिर्ता गर्न नमिल्ने उच्च माध्यमिक बिद्यालय संघ (हिसान) धनुषाका अध्यक्ष संजीव ठाकुरले दाबी गरेका छन ।
ठाकुरका अनुसार पालिकासंगको सहमतिमा नै माथि उल्लेखित ३ शुल्क बाहेकका शुल्क लिन सकिने भनेपछि ल्याब फी, एनुअल फी, लाईब्रेरी फी, ल्याब फी तथा कम्प्युटर फी लिईएको हो, जुन कुनै पनि हालतमा फिर्ता गर्न सकिदैन ।
यता, शुल्क फिर्ता नगरिए जनकपुरधाम उपमहानगरपालिकाले कानुन अनुसार कारवाही गर्ने मेयर मनोज कुमार साहले चेतावनी दिएका छन् । भर्ना भएका विद्यार्थीमा एक पटक मात्र भर्ना शुल्क लिने कानुनी प्रावधान छ तर कक्षा १२ मा समेत पुनः भर्ना शुल्क लिएकोे भन्दै उक्त शुल्क फिर्ता गर्नुपर्ने मेयर साहको भनाई छ । त्यस्तै, पालिकाको शिक्षा शाखा तथा निजी बिद्यालयसँग कुनै किसिमको सहमति नै नगरिएको शाखा प्रमुख अन्जु पाण्डेको दाबी छ ।
यता प्याब्सनका नेता रबिन्द्र चौधरीले हामीलाई सरकारले सशुल्क पढाउनका लागि नै अनुमति दिएको र ब्यापार गर्ने अधिकार पाएको निजी बिद्यालयमाथि यसरी पटक पटक अन्याय भए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन । सामुदायिक बिद्यालयमा बिभिन्न बहानामा शुल्क उठाएर लाखौ ठग्ने काम भईरहदा पनि पालिका मुकदर्शक भएर बसेको आरोप समेत लगाए ।
नेविसंघले केही दिन यता मेरो शिक्षा, मेरो प्रश्न अभियान सञ्चालन गर्दै आएको छ । त्यही क्रममा निजी क्याम्पसहरुले विद्यार्थीहरूसँग गैरकानुनी रूपमा विद्यार्थीबाट शुल्क लिने गरेको गुनासो आएको थियो । त्यसपछि नेविसंघले जनकपुरधाम उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको थियो ।
यता नेपाल विद्यार्थी संघ क्याम्पसहरुमा बिना कुनै जानकारी अचानक झुण्ड बनाएर पस्नु नै अनाधिकृत रहेको एनप्याब्सन जनकपुरधाम उपमहानगरपालिकाका अध्यक्ष दीपक ठाकुरको आरोप छ । आयव्यय बुझाएर कर समेत तिरिसकेको अवस्थामा पैसा फिर्ताको कुरा गर्नु औचित्यहिन रहेको ठहर गर्दै ठाकुरले जउनपाको यो निर्णय एकपक्षीय रहेको बताए । ‘ शिक्षाको बेथीति सुधारमा हामि साथ छौं तर,सामुदायिक विद्यालय,क्याम्पसहरुको दुरावस्था देख्दै नदेख्ने अनि नीजि विद्यालयमाथि यस्तो दवाव दिने कार्यको हामी विरोध गर्छौ।’ उनले भने ।
रकम फिर्ता हुने कुनै छाँटकाँट नरहेको बताउँदै अध्यक्ष ठाकुरले भने,‘पालिकाकै पत्रानुसार गरिएको कार्यमा पनि नीजि विद्यालयलाई दोषि बनाउन खोजियो त्यसैले अब नीजि क्याम्पसहरुमा ताला लगाएर हामि विरोधमा उत्रिनुको कुनै विकल्प छैन।’
यता नेपाल विद्यार्थी संघले छात्रवृति पाएका विद्यार्थीहरुले नीजि क्याम्पसहरुमा एक रुपिया पनि नतिरेर पढ्न पाउनु पर्ने भन्दै लिएको रकम फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ ।