असार १३ गते, जनकपुरधाम । महोत्तरीको बर्दिवासमा भौचर मार्फत राहत वितरण गरिएको छ । बर्दिबास नगरपालिका वडा नं १२ का ८० घरधुरीलाइ भौचर मार्फत खाद्यान्न वितरण गरिएको हो ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र बर्दिबास नगरपालिकाको समन्वयमा सामुदायिक परिवार कल्याण संघ बर्दिवास महोत्तरीले राहत सामाग्री वितरण गरेको हो ।
बर्दिवास नगरपालिका–१२ स्थित अहिमान टोल, बर टोल, चल्की टोलका अतिविपन्न, दलित तथा असहाय घरपरिवारलाई भौचर मार्फत खाद्यान्न वितरण गरिएको सस्थाका कार्यकारी निर्देशक मिथिलेश साहले जानकारी दिए ।

भौचर कार्ड मार्फत वितरण भइरहेको वार्ड नं १२ मा ८० घरधुरीको वितरण सकिए लगतै बर्दिबास नगरपालिका वडा नं १४ को नमुनाबस्ती र वार्ड न ४, ५ का कोरोना प्रभावित तथा अतिविपन्न १०४ घरधुरीलाई गरि कुल १ सय ८४ घरधुरीलाइ अति आबश्यक खाद्यान्न सामाग्री वितरण गर्ने योजना रहेको उनले बताए ।
लामो समय देखिको लक्डाउनका कारण दैनिक रुपमा मजदुरी गरि हात मुख जोड्ने परिवारलाई कठिनाई भइरहेको बेला दैनिक जिबनलाई सहज बनाउन र बिपतमा रहेको परिवारका बालबालिका कुपोषित हुन नदिन सस्थाले खाद्यान्न सहयोग गरिएको निर्देशक साहको भनाई छ ।

खाद्यान्न सामाग्री प्याकेजमा १ जनालाई ३० केजीको ४ बोरा चामल, गहुको पिठो, दाल, चिनी, साबुन, नुन, सरफ, मन्जन, ब्रस, सेनेटरी प्याड, आलु, प्याजलगायतका सामाग्री रहेकत्त बताइएको छ ।
पछिल्लो केहि दिनयता घरको चुलो निभेकाले छिमेकीसँग पैंचो मागेर गुजारा चलाउँदै आइरहेकी सोनादेबी सदाको अनुहारमा खुशीको सिमा थिएन । अनुहारको हासो सम्हाल्दै उनले सस्थालाई धन्यबाद दिइन् ।