२३ साउन, काठमाडौं । भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ ।
बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए । ‘एक्कासी आएको बाढीका कारण कुनै वस्तु उठाउनै भ्याइएन,’ उनले भने ।
उनका अनुसार तरकारी बजारका ४ सयमध्ये ३७० वटा पसलमा बाढी पसेको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिकामा पहिरोले एउटा घर भत्किएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा बीरबहादुर केसीको चार कोठे घर भत्किएको हो ।
घर पछाडिको ढिस्को खस्दा जस्ताले छाएको एक तले घर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । उनका अनुसार पहिरोले मानवीय क्षति भने भएको छैन ।सो स्थानमा सशस्त्र प्रहरीको दुवाकोट गण र नेपाल प्रहरीको दुवाकोट अस्थायी प्रहरी पोष्टबाट उद्धार टोली खटिएको छ ।
वर्षाले भक्तपुरका विभिन्न स्थानमा डुबानसमेत भएको छ । बाराहीस्थान, सिद्धी स्मृति अस्पताल लगायतका क्षेत्र डुबानमा परेका हुन् । धान खेत पनि डुबानमा परेका छन् । तर उद्धार गर्नुपर्ने अवस्था भने अझै नरहेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता पाठकले बताए । ‘हनुमन्ते लगायतका खोलाहरुको बहाव उल्लेख्य बढेको छ, तर अहिलेसम्म उद्धार गर्नुपर्ने स्थिति रहेको जानकारीमा आएको छैन,’ उनले भने ।
काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा पनि डुबान भएको छ । सोमबारदेखि भइरहेको भारी वर्षाका कारण बसपार्क नजिकको विष्णुमती क्षेत्र डुबानमा परेको हो ।
विष्णुमतीमा पानीको बहाव बढेर सडकमाथि बग्न थालेको छ । सडकबाट पानी घर र पसलहरूमा पसेको छ ।
काठमाडौं उपत्यकामा भएको भारी वर्षाले सामाखुसी क्षेत्र डुबानमा परेको छ । निजी घर, विद्यालय लगायतका संरचना जलमग्न भएका छन् ।
एसईबी स्कुलमा पम्प सेटको सहायताले पानी तानेर फाल्ने क्रम जारी छ । डुबानमा परेका अन्यले पनि मोटरको सहायताले पानी तानेर फाल्ने र सामान सुरक्षित स्थानमा सार्ने गरिरहेका छन् ।
काठमाडौं उपत्यकाका रातभर भारी वर्षा भएको छ । वर्षाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट ती क्षेत्र आसपास भारी वर्षा मापन भएको छ । वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा बाढी आएको छ ।
त्यसैले नदी तटीय क्षेत्रहरूमा रहनेहरूलाई आज बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।