२२ चैत्र, महोतरी । महोतरीको लोहरपटी नगरपालिका वडा नं. ७ मा शनिवार राती भिषण डकैती भएको छ ।
लोहारपटी ७ भ्रमरपुरामा करीब ७ जनाको सँख्यामा आएका अज्ञात नकाबधारीको समुहले हातहतियार देखाई लुटपाट गरेको हो । स्थानिय ललन ठाकुरको घरमा सो समुहले मुख्य द्धारको ताल्चा फुटाई घर भित्र प्रवेश गरेको पिडित ठाकुरका छोरा अबिनाश कुमार बिटटुले जानकारी दिएका छन ।

उनका अनुसार राती करीब एक बजेको समयमा आएका नकाबधारी समुहले घरका सदस्यहरुमाथि पैस्तोल तेर्साई करीब आधा घण्टा सम्म


लुटपाट गरेका थिए । सो क्रममा लुटेराहरुले बिटटुको श्रीमती तथा आमाले घाँटीमा लगाएको सुनको सिक्री, मँगलसुत्र, हार लगायतका सामाग्री लुटेका थिए । साथै घरमा राखेको नगद २ लाख समेत लुटेर लगेको पिडित बिटटुले करेन्टन्युज सेभेनलाई जानकारी दिए । उनले भने – त्यही दिन २ लाख रुपिँया क्रण काढेर ल्याएका थियौ । शनिबार भएकाले बैंक जान सकेनौ । अर्को दिन बैंकमा पैसा जम्मा गर्ने योजना थियो तर लुटेराले त्यही दिन नगद २ लाख, १० तोला सुन, सुनका सिक्री, हार, झुमका, मंगलसुत्र लगायतका सामाग्री लुटेर लगे । करीब १५ लाख बराबरको लुटपाट गरे ।
उनले अगाडि थपे – लुटेराहरुले पेस्तोल, खुकुरी र लाठी लिएर हामी सबै परिवारका सदस्यहरुलाई बन्दी बनाई लुटपाट गरे । हामीले प्रतिकार गरे मार्ने धम्की दिए । त्यसैले हामी केही गर्न सकेनौ ।
अज्ञात नकाबधारीको समुह भएपनि आफुलाई लुट्ने ब्यक्ति गाउँकै रहेको र प्रतिशोधको भावनाले आफ्नो घरमा लुटपाट गरेको प्रहरीलाई बताएपनि प्रहरीले छानबिनमा तत्परता नदेखाएको दुखेसो पोखे । लुटपाट भए लगत्तै आफुले जिल्ला प्रहरी कार्यालय महोतरीमा मौखिक जानकारी गराएको भएपनि गाउँमै रहेको इलाका प्रहरी कार्यालयबाट लुटपाट भएको करीब १ घण्टा पछि मात्र प्रहरी घटनास्थलमा आएर सोधपुछ गर्न बाहेक केही नगरेको बताए । डकैती भएको करीब ४८ घण्टा बित्न लागिसक्दा समेत प्रहरीले केही नगरेको आरोप लगाए ।
यता प्रहरीले भने अनुसन्धान जारी रहेको र लुटेराहरुको तिब्र रुपमा खोजी भईरहेको प्रष्ट पारेका छन । साथै शंकाको आधारमा कसैलाई सोधपुछ गर्न सकिने तर पक्राउ गर्न नमिल्ने जिकिर गरे ।
डकैती गरी फरार भएका लुटेराहरुलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न नसक्दा स्थानियहरुमा यस्तो घटना दोहरिन सक्ने भन्दै त्रास फैलिएको छ ।