शिवराम झा । २ माघ, जनकपुरधाम । औरही नगरपालिका महोतरीमा आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिएको छ ।
नगरपालिकामा बढेको भ्रष्टाचार र अपारदर्शीताका बिरुद्धमा बिभिन्न पाँच राजनीतिक दलहरुले आन्दोलनका थप कार्यक्रमको घोषणा गरेका छन ।
माघ ३ र ४ गते नगरपालिकाको कार्यालय अगाडि शान्तिपुर्ण धर्ना दिने कार्यक्रम रहेको जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, लोसपा र नेकपा एकिकृत समाजवादी सम्बद्ध पाँच राजनितीक दलद्धारा जारी हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।

पालिकाका मेयर सुनिल कुमार यादवले मनोमानी ढँगले आफुखुशी स्थानीय सरकार संचालन ऐन २०७४ को मर्म र भावना बिपरित कार्य गर्दै भ्रष्टाचारलाई समेत बढाबा दिदै आएकाले आन्दोलनलाई थप निरन्तरता दिनु परेको जारी बिज्ञप्तिमा जनाइएको छ ।

मेयरको यस्तो अपारदर्शी कृयाकलापमा अंकुश लगाउन बिभिन्न दलले शुरु देखि नै सचेत गराउँदै शान्तिपुर्ण धर्नामा बस्दै आएका थिए । तर दलहरुको महाधिवेशनका लागि केहि दिन देखि स्थगित आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिईने समेत बताईएको छ।
औरही नगरपालिकालाई देशकै नमुना तथा भ्रष्टाचारमुक्त पालिका बनाउन भन्दै बिभिन्न राजनितिक दलहरुले लामो समयदेखि आन्दोलनका कार्यक्रमहरु गर्दै आईरहेका छन ।
कृषकहरुलाई अबिलम्ब मलखाद उपलब्ध गराउनुपर्ने, बिभिन्न शिर्षकमा भएका खर्चहरुको हर हिसाब पारदर्शी हुनुपर्ने, पालिकाबाट बितरण भएको सामाग्रीहरुको अभिलेख देखाउनुपर्ने लगायत बिभिन्न १९ बुन्दे माग राखी आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिएको छ ।