२८ कार्तिक २०७८ .
करिब तीन हप्तादेखि आन्दोलित नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आइतबार पनि सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने तयारीमा जुटेको छ। बारले सर्वोच्च प्रवेश गर्ने दुईवटै गेटमा धर्ना दिने तयारी गरेको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले दुईवटै गेटमा आफूहरुले धर्ना दिने जानकारी प्रहरीलाई गराइसकेको बताएका छन्।
यसअघि शुक्रबार पनि बारले मुख्य गेटमा धर्ना दिएपछि प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गरेका थिए। बारले सम्पूर्ण कानुन व्यवसायीहरुलाई आइतबार बिहान ९ बजे बारमा उपस्थित हुन आह्वान गरिसकेो छ। यता सर्वोच्च अदालतका १९ न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएका छन्। न्यायाधीशले बेन्च बहिरष्कार गरेपनि प्रधानन्यायाधीशले भने इजलास गठन गर्न छोडेका छैनन्।
कानुन व्यवसायीहरुले बहस पैरबी नगर्ने घोषणा गरिसकेका छन्। उनीहरुले प्रधानन्यायाधीशले राजीनामा नदिँदासम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन्।
सर्वोच्च परिसरभित्र कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको छ। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च पुगेका कानुन व्यवसायी र त्यहाँ खटिएका सुरक्षाकर्मीबीच धकेलाधकेल भएको हो।
सोही क्रममा तत्काल इजलास सञ्चालन गर्नुपर्ने भन्दै सर्वोच्च गेट बाहिर नाराबाजी गर्ने पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले नुरप्रसाद अधिकारीसहित पाँचजनालाई नियन्त्रणमा लिएको हो।
कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सर्वोच्च परिसरको मुल गेटटमै धर्ना बसेका छन्। सर्वोच्चभित्र कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गर्न थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।