Welcome to currentnews7
धनुषा । लक्ष्मिनियाँ गाउँपालिका को कार्यान्वयन तथा अवनी मिडिया प्रा.ली. को सहयोगमा विद्यालय स्तरमा “लागु पदार्थ सम्बन्धि अभिमुखिकरण तालिम” सफलतापूर्वक सम्पन्न गरिएको छ ।
कार्यक्रम अन्तर्गत श्री बिलट साह माध्यमिक विद्यालयमा २१ बैशाख २०८३ देखि २४ बैशाख २०८३ सम्म तथा लक्ष्मिनियाँ जनता माध्यमिक विद्यालयमा २२ बैशाख २०८३ देखि २५ बैशाख २०८३ सम्म चार दिने तालिम सञ्चालन गरिएको थियो । तालिममा कक्षा ८, ९ र १० का विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य विद्यालय तहका किशोर तथा युवाहरूलाई लागु पदार्थ दुव्र्यसनबाट हुने शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक असरबारे सचेत गराउनुका साथै सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्नु रहेको थियो ।
तालिम अवधिभर विद्यार्थीहरूलाई लागु पदार्थको परिचय, यसको प्रकार, प्रयोगका कारण, किशोरावस्थामा हुने जोखिमपूर्ण व्यवहार, कानुनी व्यवस्था तथा कुलतबाट बच्ने उपायहरूबारे जानकारी प्रदान गरिएको थियो । साथै जीवन उपयोगी सीप विकास, आत्मविश्वास अभिवृद्धि, “No” भन्न सक्ने क्षमता विकास तथा सकारात्मक सोच सम्बन्धि अन्तरक्रियात्मक सत्रहरू समेत सञ्चालन गरिएको थियो ।

कार्यक्रममा समूह छलफल, प्रश्नोत्तर, प्रस्तुतीकरण तथा व्यवहारिक अभ्यासमार्फत विद्यार्थीहरूलाई सक्रिय सहभागितामा आधारित सिकाइ प्रदान गरिएको थियो । सहभागी विद्यार्थीहरूले तालिम अत्यन्त प्रभावकारी तथा ज्ञानवर्धक भएको प्रतिक्रिया दिएका थिए । उनीहरूले लागु पदार्थको वास्तविक असर, गलत संगतबाट बच्ने उपाय तथा स्वस्थ जीवनशैलीको महत्वबारे नयाँ जानकारी प्राप्त गरेको बताएका थिए ।
विद्यालय प्रशासन तथा शिक्षकहरूले विद्यालय स्तरमै यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।
कार्यक्रम आयोजक पक्षका अनुसार तालिमले विद्यार्थीहरूमा सकारात्मक सोच, जिम्मेवारीबोध तथा लागु पदार्थ विरुद्ध सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ । साथै विद्यालय तथा समुदाय स्तरमा सकारात्मक वातावरण निर्माण गर्न समेत कार्यक्रम प्रभावकारी भएको जनाइएको छ ।
आगामी दिनहरूमा पनि समुदायको आवश्यकता तथा सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै यस्ता जनचेतनामूलक, सिर्जनात्मक तथा सकारात्मक कार्यक्रमहरूमा अवनी मिडिया प्रा.ली. निरन्तर सहकार्य र सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ । समाजमा सकारात्मक परिवर्तन ल्याउन सामूहिक प्रयास, जनसहभागिता तथा सचेतनाको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरिएको छ ।