३१ असोज, जनकपुरधाम । प्रदेश-२ को लोकसेवा आयोगले एकजना आवेदनकर्तालाई एक वर्षका लागि कालोसूचीमा राखेको छ ।
महोत्तरीको एकडारा गाउँपालिकाको बथनाहा टोल निवासी प्रनित कुमार झालाई एक बर्षका लागि कालोसूचीमा राखिएको लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र यादवले जानकारी दिए ।
उनका अनुसार आयोगको गत असोज ६ गतेको निर्णय अनुसार झालाई एक बर्षका लागि कालोसूचीमा राख्ने निर्णय भएको हो । यो अवधीमा झालाई कुनै पनि लिखित परीक्षामा समावेश नगराउने निर्णय भएको अध्यक्ष यादवले बताए।
कर्मचारी भर्नाका निम्ति आयोगले विज्ञापन आह्वान गरेपछि झाले अनलाइन मार्फत् आवेदन दिएका थिए । तर, उनको केही कागजात अपुग भएकाले आयोग कर्मचारीले इमेल मार्फत् ती कागजात माग गरेका थिए । तर झाले गालीगलौज गर्दै इमेल पठाएको अध्यक्ष यादवको भनाइ छ।
अध्यक्ष यादवका अनुसार झालाई फोन गर्दा पनि यस्तै कुरा गरेका थिए ।
लोकसेवा आयोग अत्यन्तै संवेदनशील भएकाले यसको गरिमा कायम राख्नुपर्ने अध्यक्ष यादवको भनाइ छ ।