२० भदौ, काठमाडौं । अमेरिकी सेनाका जनरल मार्क मिलीले अफगानिस्तानमा गृहयुद्ध चर्किन सक्ने चेतावनी दिएका छन् । शनिबार जर्मनीको रेमस्टेनमा फक्स न्युजसँगको एक विशेष साक्षात्कारमा उनले अफगानिस्तानको अहिलेको परिस्थितिको विषयमा अमेरिकाको नीतिबारे स्पष्ट पारेका हुन् ।
अमेरिकी जनरल मिलीले अन्तर्वाताको क्रममा अमेरिकी सेना पूर्णरुपमा फिर्ता आएपछि अब अमेरिका सुरक्षित रहेको वा नरहेको भनेर अहिले नै भन्न नसकिने बर्ताका छन् । उनले अहिले अफगानिस्तानमा गृहयुद्ध चर्किन सक्ने चेतावनी दिएका छन् ।
मिलीले अफगानिस्तानमा आतंकवादी संगठनको विस्तार हुने वा पुनर्गठन हुने चिन्ता पनि व्यक्त गरेका छन् । चरमपन्थी संगठनहरुले अफगानिस्तानको अव्यवस्था र अस्थिरताको फाइदा उठाउन सक्ने उनको भनाइ छ ।
यसैबीच अफगानिस्तानको काबुलमा महिलाले तालिबानको शासनकालमा महिला अधिकारको रक्षा हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।
एजेन्सीहरुको सहयोगमा