२४ माघ, जनकपुरधाम । औरही नगरपालिका महोतरीमा सोमबार पनि नगरपालिका कार्यालय अगाडि २ घण्टा धर्ना दिईएको छ ।
नगरपालिकामा बढेको भ्रष्टाचार र अपारदर्शीताका बिरुद्धमा बिभिन्न पाँच राजनीतिक दलहरुले बर्षौदेखि आन्दोलनका बिभिन्न कार्यक्रमहरु गर्दै धर्ना दिदै आईरहेका छन । यसै अन्तर्गत आज पनि कार्यालय अगाडि १२ बजे देखि २ बजेसम्म २ घण्टा धर्ना दिईएको छ ।
धर्ना कार्यक्रममा उप मेयर रेणु झा सहित जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, लोसपा र नेकपा एकिकृत समाजवादी सम्बद्ध पाँच राजनितीक दलहरुको सहभागिता रहने गरेको छ ।
पालिकाका मेयर सुनिल कुमार यादवले मनोमानी ढँगले आफुखुशी स्थानीय सरकार संचालन ऐन २०७४ को मर्म र भावना बिपरित कार्य गर्दै भ्रष्टाचारलाई समेत बढाबा दिदै आएकाले आन्दोलनलाई थप निरन्तरता दिनु परेको धर्नाकारीहरुको भनाई छ ।
मेयरको यस्तो अपारदर्शी कृयाकलापमा अंकुश लगाउन बिभिन्न दलहरु शुरु देखि नै सचेत गराउँदै शान्तिपुर्ण धर्नामा बस्दै आएका छन । तर दिनहँु शान्तिपुर्ण रुपमा धर्ना गरिरहँदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रदेश सरकार लगायत सम्बन्धित निकायको उदासिनताका कारण पालिकामा भईरहेको बेथितीका सम्बन्धमा ध्यानाकर्षण हुन सकिरहेको छैन ।
औरही नगरपालिकालाई देशकै नमुना तथा भ्रष्टाचारमुक्त पालिका बनाउन भन्दै बिभिन्न राजनितिक दलहरुले लामो समयदेखि आन्दोलनका कार्यक्रमहरु गर्दै आईरहेका छन । तर सम्बन्धित निकायहरुले चासो समेत नलिँदा चिन्ताको बिषय बनेको छ ।

कृषकहरुलाई अबिलम्ब मलखाद उपलब्ध गराउनुपर्ने, बिभिन्न शिर्षकमा भएका खर्चहरुको हर हिसाब पारदर्शी हुनुपर्ने, पालिकाबाट बितरण भएको सामाग्रीहरुको अभिलेख देखाउनुपर्ने लगायत बिभिन्न १९ बुन्दे माग राखी आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिईएको छ ।