काठमाडौं : नेपालका विभिन्न १५ बैंकको सिस्टम ह्याक गर्ने चेतावनी आएपछि नेपाल राष्ट्र बैंकले अनुसन्धान थालेको छ । इमेल तथा भाइबरबाट विभिन्न १५ बैंकको सिष्टम ह्याक गर्ने धम्की आएपछि राष्ट्र बैंकको आइटी टोली अनुसन्धानमा खटिएको राष्ट्र बैंकमा सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए ।
उनले अहिले आफ्नै आइटी टीमले प्राप्त पत्रको बारेमा अनुसन्धान गरिरहेको बताउँदै आवश्यक परे प्रहरीको पनि सहयोग लिने बताए । कसैले धम्क्याउने प्रयोजनका लागि पनि उक्त इमेल र फोन गरेको हुनसक्ने आशङ्का गरिएको बैंकका अधिकारीहरू बताउँछन् ।
ह्याकरले पठाएको भनिएको म्यासेजमा नेपाल राष्ट्र बैंकलगायत विभिन्न १५ वटा बैंकको सूचना ह्याक गर्ने चेतावनी रहेको छ । नेपाल राष्ट्र बैंकले भने सर्वसाधारणमा त्रास फैलाउने काम भएको भन्दै नआत्तिन अनुरोध गरेको छ । सिस्टममा कुनै खराबी नरहेको केन्द्रीय बैंकले जनाएको छ ।