३ बैशाख, जनकपुरधाम । आगामी शैक्षिक सत्रका लागि जनकपुरधाम उपमहानगरपालिकाले निजी बिद्यालयका पाठ्यपुस्तकहरुमा गरेको एकरुपताका बिषयमा चौतर्फी खुलेर प्रशँसा भईरहेको छ ।
बिद्यालयहरुले तोकिएकै स्थानबाट पुस्तक किन्नुपर्ने बाध्यताको अन्त्य गर्न, प्रत्येक बर्ष पुस्तक परिवर्तन हुने गरेको झन्झटहरुबाट मुक्त गर्न तथा अभिभावकहरुको जनगुनासोलाई ध्यानमा राख्दै पालिकाले पाठ्यपुस्तकमा एकरुपता कायम गराउन चालेको कदमलाई सम्पुर्ण निजी बिद्यालयहरुले साथ र समर्थन जनाउँदै सहयोग गरेपछि अभिभावक संघ लगायत बिद्यार्थीका अभिभावहरुले यस निर्णयको खुलेरै स्वागत गरेका छन ।
यसैबिच, पालिकाले गरेको सराहनिय कदमलाई निरुत्साहित गर्नका लागि केही समुह सक्रिय भएर लागेको र बिभिन्न लाञ्छना लगाउँदै भ्रम फिजाईरहेको प्रति निजी बिद्यालयका संघ संघठनले आपत्ति जनाएका छन । यस अघि बिभिन्न ठाउँबाट मोटो कमिशन उठाउँदै आएका ब्यक्ति तथा समुहले आफ्नो आम्दानी नै रोकिने खतरा भएपछि बिभिन्न किसिमको भ्रम सिर्जना गर्न लागि परेका छन ।
यता, जनकपुर उपमहानगरपालिकाले जनकपुरको नीजि विद्यालयको एकलौटी मनोमानीको परम्परालाई अन्त्य गर्दै लागू गरेको नयाँ पाठ्यपुस्तक र प्रकाशन नेपालमै उत्कृष्ट प्रकाशन सूचीमा रहेको विज्ञहरुको दाबी छ।
शिक्षक ब्रज किशोर यादव भन्छन्, “यस अघि नीजि विद्यालयहरुले मनोमानी सहितका पाठ्यपुस्तक र प्रकाशनलाई कमिशनको मोलमोलाइँमा भर पर्दै लागू गर्ने गरेका थिए। जसकारण पाठ्यपुस्तकमा अक्षरांश अशुद्धी पढ्न मिलेको पाइएको थियो तर यसपल्ट चयन गरिएका प्रकाशनहरु उत्कृष्ट र भरपर्दो छन।”
पालिकाले लागू गरेको प्रकाशन वेदान्ता, रिडमोर, ब्रिलियन्ट, विद्यार्थी, एकता आदि नेपालकै प्रकाशकहरुको उत्कृष्ट प्रकाशक सूचीमा रहेको पाठ्यक्रमका जानकारहरू बताउँछन्।
अनेकौं असफल प्रयास पछि जनकपुर उपमहानगर पालिकाले गरेको यस निर्णयलाई शिक्षकहरूको नीजि विद्यालय छाता संगठन, जनकपुर उमनपाका नगर एनप्याब्सन, नगर प्याब्सन, नेपाल प्याब्सन, अभिभावक संघ, जनकपुरकै सैयौं पुस्तक व्यापारीहरुले स्वागत विज्ञप्ति समेत जारी गरेका छन ।