२ बैशाख, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका भित्रका निजी बिद्यालयहरुले आगामी शैक्षिक शत्रका लागि पाठ्यपुस्तकहरुमा गरेको एकरुपता प्रति अभिभावक संघ मधेश प्रदेशले स्वागत गरेको छ ।
अभिभावकहरुको जनगुनासो पछि उपमहानगरपालिकाले यहाँका निजी बिद्यालयहरुलाई बिद्यालयमा लागु हुने पाठ्यपुस्तकमा एकरुपता ल्याउन पटक पटक आग्रह गरेको थियो । उक्त आग्रहलाई सम्मान गर्दै निजी बिद्यालयहरु पाठ्यपुस्तकमा एकरुपता गर्न सहमत भई लागु हुने पाठ्यपुस्तकको नामावली पनि यस अघि नै पालिकामा पठाई सकेको छ ।
यस अघि बिभिन्न बिद्यालयहरुले आफुखुशी अनेक थरीका पाठ्यपुस्तक लागु गर्दै आएकोमा शिक्षाको स्तर खस्किरहेको भन्दै बिभिन्न सरोकारवाला निकायहरुले चिन्ता ब्यक्त गरेका थिए । पालिकाको आग्रहपछि गरिएको एकरुपताले अभिभावकहरु यस निर्णयको स्वागत गरिरहेका छन ।
यसअघि निजी बिद्यालयहरुले बिद्यार्थी तथा अभिभावकहरुलाई तोकिएकै स्थानबाट पोशाक तथा पाठ्यपुस्तक खरिद गर्न बाध्य गर्दै आएकोमा पालिकाको निर्णयमा निजी बिद्यालयका संघ संगठनले समेत समर्थन जनाउँदै सहयोग गरेकोमा चौतर्फी प्रशंसा हुँदै आएको छ ।
संघले एक बिज्ञप्ति नै जारी गरी जनकपुरधाम उपमहानगरपालिकाले लागु गर्ने गरी गरेको निर्णय अन्य पालिकाले पनि अनुसरण गर्न आग्रह गरेको छ । साथै निजी बिद्यालयहरुलाई यसको पालना गर्न र अभिभावकलाई सचेत भई पालना गराउन ध्यानाकर्षण समेत गराएको छ ।