४ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा.संगीता कौशल मिश्राले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् । वरिष्ठताको क्रममा अगाडि भएपनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै मिश्राले चैत १ गते सर्वाेच्चमा रिट निवेदन दिएकी हुन् ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएकी छिन् । उनको रिटमाथि सोमबार सुनुवाई भएको थियो । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा भएको सुनुवाई पनि सर्वाेच्चले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
साथै छलफलका लागि दुवैपक्षलाई बोलाइएको छ ।
२१ फागुनमा बसेको मन्त्रिपरिषद बैठकले अतिरिक्त सचिव डा. विकास देवकोटालाई सचिवमा बढुवा गरेको थियो ।
देवकोटा सचिव भएपनि मिश्राले आफूभन्दा जुनियरमा रहेर काम नगर्ने बताएकी थिइन्।
१२ फागुनमा पूर्वसचिव डा.रोशन पोखरेलको ५ वर्षे कार्यकाल सकिएसँगै लोकसेवा आयोगले नयाँ सचिवका लागि मन्त्रालयका तीन अतिरिक्त सचिवहरु डा.मिश्रा, डा. विकास देवकोटा र डा.टंक बाराकोटीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।