२८ पुष | धनुषाको लक्ष्मिनिया गाउँपालिकामा दलान नेपालको नेतृत्वमा, यूएसएआईडी सिभिल सोसाइटी मिडियाको आर्थिक सहयोग र द एशिया फाउन्डेसनको प्राविधिक सहयोग तथा लक्ष्मिनिया गाउँपालिकाको समन्वयमा “एकल महिलाका सामाजिक अधिकारका लागि समावेशी शासन” परियोजना सञ्चालनमा आएको छ ।
यो परियोजनाको मुख्य उद्देश्य एकल महिलाहरूलाई सामाजिक अधिकारको बारेमा सचेत बनाउनु, उनीहरूलाई क्षमता अभिवृद्धि गर्दै निर्णय प्रक्रियामा समावेश गराउनुका साथै समुदायमा सकारात्मक परिवर्तन ल्याउनु हो । परियोजनाको अवधारणा अनुसार, प्रत्येक वडामा पाँचजना टोली नेतृहरू चयन गरिएकोछ, जसले अन्य एकल महिलाहरूलाई सहयोग गर्ने बताइएको छ । प्रारम्भिक चरणमा एकल महिलाहरूलाई आधारभूत तहमा क्षमता विकास तालिम प्रदान गरिनेछ । पछि बृहत रुपमा क्षमता विकास तालिम दिदै उनीहरुलाई नेतृत्वको बिकास गर्ने लक्ष्य रहेको बताईएको छ । यस परियोजनाका मुख्य उद्देश्यहरू क्रमश, एकल महिलाहरूलाई उनीहरूको सामाजिक अधिकारका बारेमा जानकारी दिनु, वडास्तर र गाउँपालिका स्तरमा एकल महिलाहरूको निर्णय प्रक्रियामा समावेश गराउनु, एकल महिलाहरूका लागि वडास्तर र गाउँपालिकाले अलग्गै बजेट छुट्याउने पहल गर्नु, तथा महिलाहरूलाई सशक्त बनाएर समाजमा सकारात्मक परिवर्तन ल्याउनु रहेको परियोजना संयोजक दिलिप कुमार ईश्वरले बताएका छन ।
परियोजना अन्तर्गत एकल महिलाहरूलाई प्रशिक्षण, समूह निर्माण, र नेतृत्व विकासका अवसरहरू प्रदान गरिन्छ । यसले उनीहरूलाई आफ्ना अधिकार र जिम्मेवारीका बारेमा सशक्त बनाउँदै, समाजमा आफ्नो स्थान सुरक्षित गर्न मद्दत गर्ने बिश्वास लिईएको छ । दलान नेपालका अनुसार, महिलाहरू सशक्त भएमा परिवार, समुदाय, र समग्र समाजमा सकारात्मक प्रभाव पर्न सक्छ । यो परियोजनाले एकल महिलाहरूलाई मात्र नभई समुदायलाई समावेशी र समानताको दिशामा अघि बढ्न प्रेरित गर्ने विश्वास लिएको दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरले बताउनु भयो । दलान नेपालका पदाधिकारीहरूले यो परियोजना सफल बनाउन सरकार, समुदाय, र सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको बताएका छन्। लक्ष्मिनिया गाउँपालिकामा एकल महिलाहरूका अधिकारका लागि छुट्टै बजेट व्यवस्थापन गर्न पहल गरिने तथा यो परियोजना धनुषा जिल्लाका अन्य क्षेत्रका लागि पनि नमूना बन्ने अपेक्षा गरिएको दलान नेपालका कार्यकारी निर्देशक ठाकुरले बताए । यस परियोजनाले समाजका हरेक वर्गलाई समेट्दै, पलिकाका सम्पूर्ण ७ वटै वडाका १४९ जना जेष्ठ एकल महिला र ३८३ जना एकल महिला गरी जम्मा ५३९ जना एकल महिलाहरूको सशक्तिकरण मार्फत समाजलाई समृद्ध र समान बनाउने दलान नेपालको प्रयास सराहनीय रहेको स्थानीयहरुले बताएका छन ।