२७ कातिक, जनकपुरधाम । बिगत केही दिनदेखि जनकपुर उपमहानगरपालिका भित्र कक्षा ११ र १२ का बिद्यार्थीहरुको छात्रवृतिलाई लिएर भईरहेको बिवाद सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको एनप्याबसन मधेश प्रदेश समितिले जनाएको छ ।
सो समितिले एक बिज्ञप्ति जारी गर्दै छात्रवृतिको सम्बन्धमा नेविसंघले अनावश्यक द्धन्द सृजना गरी जनकपुर उपमहानगरपालिका भित्रका अभिभावक तथा बिद्यार्थीहरुमा भ्रम सृजना गरेको आरोप लगाउँदै यस प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
शैक्षिक सत्रको बिचमा नयाँ निर्णय लागु गर्दा बिद्यार्थी तथा अभिभावक बिच द्धन्द सिर्जना हुने भएकोले यस सम्बन्धी अन्य पालिकाहरुले गरेको निर्णयलाई पनि अध्ययन गरी, सरोकारवालाहरुसँग छलफल गरी नयाँ निर्णयहरु आगामी शैक्षिक सत्रदेखि लागु गर्न सुझाव समेत दिएको छ ।
यस अघि उपमहानगरपालिकाले संस्थागत विद्यालयहरुमा छात्रबृतिमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुको संदर्भमा छात्रवृति अध्ययन कार्यबिधि २०७४ अनुसार नामांकन शुल्क, मासिक शुल्क र आन्तरिक परिक्षा शुल्क बाहेक अन्य शुल्क लिन सकिने गरि २०८१ भदौ १३ गते निजी बिद्यालयहरुसँग सहमति गरेको थियो, तर पुनः पालिकाले आफैले गरेको सहमतिलाई आफैले उल्ट्याई यही कातिक १४ गते फरक निर्णय गरेको प्रति संस्थागत बिद्यालयका संगठनहरु हिसान, प्याबसन र एनप्याबसनले समेत आपत्ति जनाएको छ । संगठनका अनुसार यो बर्ष भदौकै सहमति अनुसार शुल्क लिन दिईनुपर्ने र आगामी बर्षदेखि मात्रै नयाँ निर्णय लागु गर्न सकिने बिज्ञप्ति मार्फत जनाएको थियो ।