ब्रम्हाजी सुन किन्नै हुन्न, किनिहाले पनि सुत्नै हुन्न

सन्तोष कर्ण, (पत्रकार जनकपुर एफएम) । प्रसंग पत्रकार मित्र ब्रम्हानन्द ठाकुरजीको घरमा रातीमा भएको चोरीको ।
हामी मधेश प्रदेशको राजधानी जनकपुरधामका बासिन्दा हौं ! जँहा सांसद,मन्त्री,मुख्यमन्त्री र प्रदेश प्रमुख समेतको कार्यालय र आवास छ । जुन ठाँउमा यस्ता उच्च पदस्थ ब्यक्तिहरूको बसाई हुन्छ त्यस ठाँउको सुरक्षा ब्यवस्था कस्तो हुँदो होला भनेर हाँमीले अब कल्पना गर्नु पर्ने आवस्यक्ता छैन । त्यसमा पनि टेक्नोलोजीले मारेको फडकोले गर्दा त झनै “अब तो परिन्दा भी पर नहीं मार सकता “भन्ने हिन्दी डायलग त झनै सुहाउँदो भएको छ ।किनकि सिसी टिभी क्यामरा,मोवाईल ट्र्याकिङ जस्ता उपकरण र प्रविधीहरूको सेवा पनी उपलब्ध छ । तर दुर्भाग्य जति नै हामी सुखी र सुरक्षित जीवनको गोरेटोमा अगाडी बढ्यौं भनेर भन्छौं त्यति नै दुःखको खाडलमा लडेको अनुभूति पो हुँदै छ ।
तपाईं मधेश प्रदेको राजधानी जनकपुरधाममा जुनसुकै बाटो भएर जुनसुकै सवारी लिएर प्रवेश गर्नुभयो भने वा निजी सवारीमा जस्तोसुकै बिरामी लिएर अस्पताल रोड पुग्नु भयो भने तपाईं ट्र्याफिक प्रहरी भेट्नु हुन्छ । जनकपुरको विभिन्न ठाँउमा जनपद र शसस्त्र प्रहरी भेट्नु हुन्छ । संघीय सरकारको कुनै मन्त्रीसन्त्रीको आगमन छ भने त झनै पाईला पाईलामा सुरक्षाकर्मी तैनात पाउनु हुन्छ । तसर्थ जनकपुर भित्र प्रवेश गर्दा र बाहिर निस्कदा प्रहरी लाई छल्नु भनेको तपाईको बहादुरी नै हो । किनकी प्रदेशको राजधानीमा खटिएका ई सबै सुरक्षाकर्मी मात्र ड्युटी बजाउन होईन,बरू बाटो हिंडने सर्वसाधारण नागरिक लाई समेत अनायासै कोट्याई राख्नु हुन्छ ! जुन सुरक्षाको पाटोमा सराहनिय कदम पनि हो जस्तो मलाई लाग्छ ।
तर अचम्मको कुरो त के छ भने ती तैनात सुरक्षाकर्मीहरू रातीको त के कुरा दिउंसै राजस्व छली गरेर पारी बाट सामान लिएर आउने ब्लेकिया भनिनेहरू लाई सिमा नाका देखी जनकपुर बजार भित्र सम्म कहीं भेटनु हुन्न,पारी बाट लागू औषध ओसारपसारमा संलग्न युवाहरू लाई कहीं भेट्नु हुन्न, दिउंसै जनकपुरबाट मोटर साईकल चोरेर वा बजार भित्र लुटपाट गरेर बाईक चढेरै कुलालाम ठोकेका ती लुटेराहरूको कहीं कतै विलबुक र सवारी चालक अनुमती पत्र लाईसेन्स चेकजाँच गर्ने ट्र्याफिक प्रहरीले भेट्नु हुन्न । भने पछि जनकपुरको दिउसोको अवस्था यस्तो छ भने रातीमा हुने विभिन्न गतिविधीको बारेमा जानकारी पाउनु त सायद चुनौतीपूर्ण नै हो । हुनत भेट्दै न भेटेको पनि होईन, तर समातिने को सँख्या र उम्कीने को सँख्या खोतल्नु भयो भने सायद मैले केही भन्नु पर्दैन । अर्को कुरो जुनसुकै समाजमा पनि बसोवास गरी रहेका ब्यक्तीहरू को के गर्दै छन्,कुन कार्यमा संलग्न छन् भन्ने कुरा एकअर्का लाई सहजै थाहा रहन्छ । तर पनि यस्ता घटनाहरूमा संलग्न लाई खोज्न, ठम्याउन, समाउन र कार्वाही गर्न भने हाँमीले निकै समय कुर्नु पर्ने अवस्था पनि हामी समक्ष छ ।
जनकपुरधाम वडा नम्बर–७ मा रहनु भएका पत्रकार मित्र ब्रम्हानन्द ठाकुरजीको घरमा भएको चोरीको घटना दुःखद त हो तर बम्हाजी,सायद भूल तपाईंकै हो ! तपाँईले त्यतिको सुनचाँदी किन्नै नहुने रै छ, किने पनि घरमा राख्नै नहुने, राखे पनि तपाँईहरू रातीमा सुत्नै नहुने, सुते पनि आँखा चिम्लिनै नहुने । गल्ती गर्नु भो मित्र र यस्ता गल्ती हामी सबैले गरिराछौं । तसर्थ अब आगामी दिनमा हामीसबैले ध्यान राख्नु पर्छ। हामी र हाम्रो प्रदेशको राजधानीको अवस्था देखेर आशा मात्र गरौं तपाईले बिराउनु भएको सम्पत्ति केहीगरी हातमा आवोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *