२३ साउन, जनकपुरधाम । सुजित झा । नवविवाहित महिलाहरुले मनाउने मधुश्रावणी पर्वको आज समापन गरिदै छ । घर–घरमा पूजालाई लिएर महिलाहरुमा उत्साह देखिएको छ ।
नवविवाहितहरुको घरमा ससुराबाट यसैपर्वलाई लिएर पाहुर (भार) आएको छ । मिथिलाञ्चलमा १५ दिनसम्म मनाइने यो पर्व विशेष गरी ब्राह्मण, कायस्थ, देव र सोनार जातिका नवविवाहिता महिलाले मनाउने गर्छन् ।
यस पर्वमा महिलाहरुले एक दिन पहिले नै टिपेर ल्याएको फूलले विषहाराको (नागनागिन) प्रतिमा स्थापना गरी पूजा अर्चना गर्ने गर्छन् । पर्व मनाउने महिलाले १५ दिनसम्म चोखो भई बस्नुपर्ने हुन्छ । नुन, लसुन र प्याज खान नपाइने र अरु नियम पनि पालना गर्नुपर्ने भएकाले महिलाका लागि यो पर्व कठोर मानिन्छ ।
यो पर्वको अवधिभर महिलाहरुले माइतीबाट ल्याएको अन्नमात्र खाने परम्परा छ भने लुगा पनि माइतीले नै दिएको लगाउनुपर्छ । पर्व सुरु हुनुभन्दा एक दिन पहिलै पूजा सामग्री, अन्न, वस्त्रलगायतका सामग्री माइतीले कोसेली (भार) को रुपमा पठाउँछन् । यस पर्वमा ससुरावाट दूईपटक पाहुर आउने गर्छन् ।
पूजाको बेला महिलाले नाग नागिन, शिव पार्वतीका विभिन्न समयमा भएको लीलाहरुको वर्णनको कथाहरु सुन्ने गर्छन् । यसो गर्दा श्रीमानको आयु बढ्ने सर्पदंशबाट मुक्ति हुने जनविश्वास रहेको व्रतातु हरु वताउँछन् ।
आज पर्वको अन्तिम दिन अर्थात मधुश्रावणी भनिने १५ औँ दिन बलिरहेको दियोले टेमी दिने चलन रहेको छ । यस प्रथाको विरोध हुँदै आए पनि अन्त्य हुन भने सकेको छैन । हुनत केही स्थानमा शीतल टेमी दिने चलन पनि शुरु भइसकेको छ ।