१४ असार, जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिकामा जेष्ठ नागरिक, एकल महिला तथा पुर्ण रुपमा फरक क्षमता भएकाहरुलाई सम्मान गरिएको छ ।
पालिकाको आर्थिक सहयोग तथा दलान नेपाल धनुषाद्धारा आयोजित सो कार्यक्रम मार्फत ७५ बर्ष माथिका जेष्ठ नागरिक, एकल महिला तथा पुर्ण रुपमा फरक क्षमता भएकालाई सम्मान गरिएको छ ।
वडा नं. ४ का वडाध्यक्ष प्रदिप कुमार यादवको अध्यक्षता तथा नगर प्रमुख राजेन्द्रप्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम ‘जेष्ठ नागरिकहरुको सम्मान गरौ, राष्ट्रिय गौरव बढाऔ’ भन्ने मुलनाराका साथ सम्पन्न गरिएको दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरले बताए ।
नेपाल सरकारद्वारा सुरक्षा भत्ता प्रदान गरिदै आएको जेष्ठ नागरिक, एकल महिला तथा पुर्ण रुपमा फरक क्षमता भएका सो वडाका एकसय पचास जना नागरिकहरुलाई अबिर माला र दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा उपप्रमुख शोभा देवी साह, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, पुर्व गाविस अध्यक्ष राजकिशोर यादव, जनता मावि कजरा रमौलका प्रधानाध्यापक लालबाबु यादव, वडा सचिव राजिव यादव, दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुर, वडासदस्यहरु, स्थानीय राजनीतिककर्मी, बुद्धिजीवी, युवा र शिक्षक सहितको सहभागिता रहेको थियो ।