१२ असार, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा दर्ता नै नगरी निर्वाध रुपमा संचालनमा रहेका बिद्यालयहरुलाई तत्कालै बन्द नगरिए कडा कदम उठाउन बाध्य हुने निजी बिद्यालयका संघ संगठनहरुले चेतावनी दिएका छन ।
प्याबसन, एन–प्याबसन र हिसानले संयुक्त रुपमा एक ध्यानाकर्षण पत्र मेयर मनोज साहलाई बुझाउँदै सो चेतावनी दिएका हुन । सो ध्यानाकर्षण पत्रमा बिगत एक बर्ष पहिले अनुगमनका क्रममा फेला परेका बिना दर्ताका १४ वटा बिद्यालयहरुलाई अबिलम्ब बन्द गर्न निर्देशन दिईएपनि सो निर्देशनको अटेरी गरी हाल सम्म बिद्यालय निर्वाधरुपमा संचालन गरीरहेको पाईएकाले सो बिद्यालयहरुलाई तत्कालै बन्द गर्न ध्यानाकर्षण गराईको छ । यसरी बिना दर्ताका बिद्यालय निर्वाधरुपमा संचालन भईरहदा हजारौ बालबालिकाको भबिष्य अन्धकारतर्फ धकेलिएकोले यथाशिघ्र त्यस्ता बिद्यालयहरुलाई बन्द गर्न जोडदार माग गर्छौ भनेर सो पत्रमा भनिएको छ ।
सो बेला अगुगमनको क्रममा न्यु गणेशा ईंग्लिस बोर्डिंग स्कुल, सोनामाई ईंग्लिश स्कुल, श्री आधार बाल वाटिका, न्यु बुढा निलकण्ठ मण्टेसरी स्कुल, रोज ईन्टरनेशनल एकेडेमी, संस्कार पब्लिक स्कुल, ग्रिनउड पब्लिक स्कुल, लिङकन सिटी स्कुल, न्यु नेम एजुकेशन प्वाइन्ट स्कुल, अक्सफोर्ड ईग्लिश बोर्डिंग स्कुल, ज्ञानगंगा ईन्टरनेशल स्कुल लगायतको बिद्यालयहरु अवैध ठहर भएको थियो ।
पटक पटक उपमहानगरपालिकाका कर्मचारी तथा सरोकारवाला निकायहरुको रोहवरमा अनुगमन भएर बन्द गराउन दिएको निर्देशनको बेवास्ता गरी संचालनमा राखी धमाधम बिद्यार्थी भर्ना गरीराखेकाले यसलाई तत्कालै रोक्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै मेयर साहले अवैध विद्यालयहरुलाई नियमनका लागि कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । साथै अवैध विद्यालयहरुको अनुगमनकालागि अनुगमन समिति गठन गरेर अगाडि बढ्ने उल्लेख गर्दै विगत एक वर्ष पूर्व अनुगमन भई अवैध ठहर भएकालाई समेत कारवाही गर्ने प्रष्ट गरे ।
प्याब्सन, एनप्याब्सन तथा हिसानद्धारा हस्ताक्षरित संयुक्त ध्यानाकर्षण पत्र एनप्याब्सन जनकपुरधामका अध्यक्ष दीपक ठाकुरले प्रस्तुत गरेका थिए ।