६ असार, जनकपुरधाम । धनुषामा बैदेशिक रोजगारमा जान सक्ने सम्भावित कामदारहरुको लागि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
नगराईन नगरपालिकाको आर्थिक सहयोग तथा सामुदायिक परिवार कल्याण संघ धनुषाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नगराईन नगरपालिकाकै बिभिन्न वडाका ७५ जनालार्ई सहभागी गराईएको छ । युवाहरुलाई बैदेशिक रोजगारीमा जानु पुर्व अपनाउनुपर्ने सावधानी र गए पश्चात तथा फर्केपछि अपनाउनुपर्ने बिभिन्न सचेतनाका बिषयमा अभिमुखिकरण दिईएको एक सहभागीले बताए ।
नगराईनका वडा नं. १ देखि ९ सम्मका युवाहरुलाई २५÷२५ जना सहभागीको दरले ३ चरणमा २ दिने अभिमुखिकरण दिईएको छ । जस अन्तर्गत ३ र ४ गते देबडिहा, ५ र ६ गते फुलगामामा युवाहरुलाई सो अभिमुखिकरण दिईएको हो ।
त्यस्तै, तेश्रो चरणमा ७ र ८ गते २५ जनालाई सो अभिमुखिकरण दिने कार्यक्रम रहेको संघका कार्यकारी निर्देशक लक्ष्मेश्वर मण्डलले बताए ।
वडा नं. ३ का अध्यक्ष पल्टु साहको अध्यक्षतामा भएको सो अभिमुखिकरण कार्यक्रममा वडा नं. १ का अध्यक्ष सिताराम महतो र वडा नं. ४ का अध्यक्ष राजकुमार ठाकुरको समेत उपस्थिति रहेको थियो ।