१७ फागुन, जनकपुरधाम । निजि विद्यालयहरुको संगठन प्याब्सन तथा एनप्याब्सनको संयुक्त आयोजनामा जनकपुरधाममा एथलेटिक्स टुर्नामेन्ट शुरु भएको छ ।
स्थानिय राम जानकी अन्तर्राष्ट्रिय रंगशाला जनकपुरधाममा शुरु भएको उक्त खेलको उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले उदघाटन गरेका थिए ।
२२ वटा निजि विद्यालयहरुको सहभागितामा शुरु भएको सो प्रतियोगिता दुई दिनसम्म चल्ने बताईएको छ ।
एथलेटिक्स अन्तर्गतका ३ खेलको आयोजन हुनेछ भने टुर्नामेन्टमा ट्रैक अन्तर्गत १ सय मिटर, २ सय मिटर, ३ सय मिटर र ४ सय मिटर दौड प्रतियोगिताको आयोजना हुनेछ । त्यस्तै ज्याब्लिंग थ्रो, शटपुट थ्रो र हाइ जम्प तथा लंग जम्पको आयोजना हुनेछ ।
कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागिता रह्ने यो प्रतियोगिता सिनियर ब्वाइज, सिनियर गल्र्स, जुनियर ब्वाइज र जुनियर गल्र्स गरी ४ क्याटोगोरीमा आयोजना हुने एनप्याब्सन धनुषाका अध्यक्ष आशिष झाले जानकारी दिए । ४४ विद्यालयबाट लगभग १ हजार विद्यार्थीहरुको सहभागिता रहेको छ ।
सो प्रतियोगितामा जनकपुरधाम उपमहानगरपालिका र हिमालयन ह्वाईट हाउस काठमाण्डौको बिशेष सहयोग रहेको जनाईएको छ ।
प्रतियोगिताको उद्धघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख साहले यस प्रकारका प्रतियोगिताहरुलाई विद्यालयहरुले निरन्तरता दिदै खेलाडी निर्माण गर्न तर्फ केन्द्रित हुनु आवश्यक रहेको बताए ।
एनप्याब्सन जनकपुरधाम नगर समितिका अध्यक्ष दीपक ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन जनकपुरधाम नगर समितिका अध्यक्ष रविन्द्र चौधरी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।