२ फाल्गुन, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाकामा अपाङ्गता समावेशी विकास सम्बन्धी जानकारी दिने उद्देश्यले एकदिने अभिमुखिकरण कार्यक्रम दिईएको छ ।
जनप्रतिनिधी, कर्मचारी र अपाङ्गता समन्वय समितिका पदाधिकारीहरुलाई सो अभिमुखिकरण दिईएको हो । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशको आयोजना तथा स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्तर्गत अष्ट्रेलियन एड एवं द एशिया फाउण्डेशको सहयोग र मिथिला नगरपालिकाको समन्वयमा भएको सो अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले नगरपालिकामा अपाङ्गता समावेशी विकासका लागि नौ बुँदे प्रतिबद्धता समेत जनाएका छन ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका कोषाध्यक्ष कुमार रेग्मीको अध्यक्षता तथा मिथिला नगरपालिकाका उपमेयर सुनितासिंह बुढाथोकीको प्रमुख आतिथ्यमा भएको अभिमुखिकरणमा अपाङ्गता समावेशी विकासका लागि अपाङगता समन्वयन समिति र पालिकाले गर्नुपर्ने काम, कर्तव्य, बजेट, भौतिक संरचना लगायतको विषयमा जानकारी गराईएको थियो । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय सदस्य दिपा देवकोटा र सतिशचन्द्र झाले प्रस्तुतिकरण गरेका थिए ।
सो कार्यक्रममा अपाङगता पूर्णतया सामाजिक सवाल हो, यो विभेद, अवरोध, सामाजिक भेदभाव र असमान व्यवहारबाट सृजित अवस्था रहेकाले अपाङ्गता समावेशी विकासका लागि हालको ऐन कानुन र कार्यविधी पनि सोहि अनुसार संसोधन गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
अभिमुखिकरण कार्यक्रममा मिथिला नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष रामचन्द्र महतो, ७ का अध्यक्ष रामबहादुर स्यांगदन, ८ का अध्यक्ष विरेन्द्र महतो, १० का अध्यक्ष सविन विक्रम थापा, वडा नं. २ का वडासदस्य हरिकुमार यादव, स्वास्थ्य शाखा प्रमुख अशोक कुमार भण्डारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मिलन श्रीवास्तव, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशका प्रमुख प्रकाश नेपाली, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका दोभाषे रेजिना उप्रेती, महोत्तरी बहिरा संघका दोभाषे लक्ष्मी विश्वकर्मा, मिथिला नगरपालिका पैरवी समूहका सदस्य लालबाबु पासवान लगायतका उपस्थिति रहेको थियो ।