३ माघ, जनकपुरधाम । अयोध्याको राम मन्दिरमा श्रीरामको प्राण प्रतिष्ठा हुने दिन जनकपुरधाम स्थित जानकी मन्दिरमा समेत बिभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ ।
करीब ४०० बर्ष पछि अयोध्यामा निर्माण भईरहेको राम मन्दिरमा रामको प्राण प्रतिष्ठा हुने दिन २२ जनवरी अर्थात माघ ८ गते रामको ससुराली अर्थात सीताको माईत जनकपुरधाममा पनि भब्यताका साथ बिभिन्न कार्यक्रम हुने भएको छ ।
त्यस दिन जानकी मन्दिरमा सवा लाख दियो बाल्ने कार्यक्रम रहेको छ भने रंगोली बनाएर जानकी मन्दिरलाई सजाईनेछ । त्यस्तै, सीतारामको झाँकी हुनुको साथै ७ वटा हवन कुण्डमा हवन समेत गरिने भएको छ । जानकी मन्दिरबाट दिउँसो शोभायात्रा निकालिने भएको छ भने साँस्कृतिक कार्यक्रमको आयोजनाका साथै अयोध्याका कार्यक्रमको प्रत्यक्ष प्रशारण समेत गरिने बताईएको छ ।
जानकी सेनाको आयोजनामा हुने कार्यक्रममा त्यस दिन जानकी मन्दिरमै गंगा आरती गरिने छ भने आयोजकले त्यस दिन आ आफ्नो बच्चाहरुलाई सीताराम बनाई कार्यक्रममा सहभागी गर्न अपिल समेत गरेको छ । त्यस्तै दियो बाल्नका लागि चाहिने आवश्यक सामाग्री तेल दान गर्न ईच्छुक ब्यक्तिलाई तेल दान गर्न आग्रह समेत गरेको छ ।