१ माघ, जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाका शिक्षा प्रमुख अन्जु पाण्डेलाई कारबाही नगरिएको भन्दै निजी बिद्यालय संघ संगठनले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
प्याबसन, एनप्याबसन तथा हिसानले संयुक्त बिज्ञप्ति जारी गर्दै पालिकाका मेयर मनोज साह र प्रमुख प्रशासकिय अधिकृत बिचको सहमति बिपरित बिबादित कर्मचारी अन्जु पाण्डेलाई सोही शाखामा यथावत राखेको भन्दै आपत्ति जनाएको हो ।
जारी गरिएको बिज्ञप्तिमा भनिएको छ – बिबादित कर्मचारीलाई पुनः शिक्षा शाखामा राखेर गर्न खोजिएको चलखेल वा हाम्रो सहमति बिपरितको कार्य भएमा हामी पुनः चरणबद्ध आन्दोलनमा जाने कुरा यसै बिज्ञप्ति मार्फत जानकारी गराउँछौ ।
यस अघि पालिका द्वारा शिक्षा शाखा प्रमुख अन्जु पाण्डे र मेहीलाल यादव सङ्ग २४ घण्टे स्पष्टीकरण माग गरिएको थियो ।
हिमाली ई.बोर्डिङ स्कुलका संस्थापक दिपेन्द्र साहलाई पालिकाको कार्यालयमा पाण्डे र यादवले दुव्र्यबहार गरेको उजुरी निजी बिद्यालयका संघ संगठनले दिएपछि दुबै संग उपमहानगरपालिकाले २४ घण्टे स्पष्टीकरण माग गरेको थियो । स्पष्टिकरण माग गरे पछि यादवले स्पष्टिकरणको जवाफमा दोषी ठहरे सबुत प्रमाण जुटाई कारबाही गर्न चुनौती दिएका थिए ।
हिसान धनुषा, प्याबसन तथा एनप्याबसनले गरेको उजुरीमा यादव र पाण्डेले साहलाई सबै स्कुल ईलिगल हुन, सबैलाई जेलमा कोच्छु भनी अभद्र ब्यबहार गरेको भन्दै पाण्डे र यादबलाई कारबाहीको माग गरिएको थियो । साथै, त्यस उजुरीमा ५ हजार आर्थिक रकमको चलखेल पनि गरेको आरोप लगाईएको थियो ।
उजुरी पश्चात निजी बिद्यालयका संघ संगठनले शिक्षा शाखामा तालाबन्दी गरेका थिए भने शिक्षा संयोजक मिहिलाल यादव र अन्जु पाण्डेलाई शिक्षा शाखाबाट हटाउनुपर्ने भन्दै प्रम्ख प्रशासकिय अधिकृत सँग सहमति गरेका थिए । तर यादवलाई सो शाखाबाट हटाईए पनि पाण्डेलाई नहटाएको भन्दै पुनः आन्दोलनमा जाने चेतावनी दिएका हुन ।
त्यस यता, शिक्षा समितिका कर्मचारीद्धारा निजी बिद्यालयका सँचालकमाथि दुव्र्यवहार गरिएको भन्दै प्याबसन, एनप्याबसन तथा हिसान धनुषाले पटक पटक चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिदै आईरहेको छ ।