९ पुस, जनकपुरधाम । जनकपुरधामका केही निजी बिद्यालयहरुले आज तुलसीको पूजा गरी तुलसी पूजन दिवस मनाएका छन ।
जहाँ एकतर्फ विश्वभर क्रिसमसको उत्सव मनाउने रौनक छ । त्यही बेला जनकपुरमा विभिन्न हिन्दूवादी संघसंस्था एवम् विद्यालयहरूले तुलसी पूजन गरी दिवस मनाए ।
विश्व हिन्दू परिषद नेपाल, मोडर्न नेपाल स्कुल, यूरेका इन्टरनेशनल हाइ स्कुल लगायतले स्कुलमै बिद्यार्थीहरुलाई तुलसीको महत्व बताउँदै यसको संरक्षणका लागि समेत पूजा गर्नु आवश्यक रहेको भन्दै तुलसी पूजन दिवस मनाएका हुन् । विश्व हिन्दू परिषद नेपालले यसै अवसरमा जानकी मन्दिर परिसरमा सयौं तुलसीको वोट वितरण गरेका छन ।
यता, मोडर्न नेपालका प्रधानाध्यापक तथा एनप्याब्सनका जनकपुरधाम नगर अध्यक्ष समेत रहेका दीपक ठाकुरले तुलसी एउटा बोट मात्र नभई आस्थाको प्रतिक तथा औषधीयुक्त एक प्रकारको जडीबुटी समेत रहेकाले यसको महत्वबारे बिद्यार्थीहरुलाई जानकारी गराएका छन । साथै बिद्यार्थीहरुले पनि पूजा गरी दिवस मनाएका छन । ठाकुरले अन्य विद्यालयलाई समेत तुलसी पूजन दिवस मनाउन आग्रह गरे ।
ठाकुरले अगाडि भने, ’तुलसीको महत्वको वर्णन हाम्रो शास्त्रमा र विज्ञानमा पनि छ । स्कन्द पुराणमा तुलसीको बोटमा पूजा गरिने घरमा यमदूत प्रवेश गर्न सक्दैनन् भनिएको छ ।’ उनले तुलसीको विरुवा एक अभियानकै रुपमा हरेक घरमा लगाउन आग्रह समेत गरेका छन् ।
हिन्दू धर्ममा तुलसीको पूजा गरिन्छ । यसलाई हरेक आस्थावान हिन्दुहरुले आफ्नो घरको आँगनमा अनिवार्य रुपमा रोप्ने गरेका छन् । हिन्दु धर्ममा आस्था राख्नेहरु हरेक दिन तुलसी पूजा गर्ने गर्दछन् ।
त्रिसमस र तुलसी पुजन एकै दिन पर्ने गरेकाले पनि आस्था अनुसार हिन्दुहरुले तुलसी पुजन गर्ने र क्रिश्चियनहरुले त्रिसमस मनाउने गरेका छन ।