४ पुष जनकपुरधाम । बिवाहपञ्चमीको अवसरमा जनकपुरधामका निजी बिद्यालयहरुमा बासको ब्यवस्था गरिएको प्रति चौतर्फी प्रशँसा भएको छ ।
बिवाहपञ्चमीको अवसरमा जनकपुरमा करीब ५ लाख भन्दा बढी श्रद्धालु आउने गरेको र लाखौ श्रद्धालुहरुको लागि सरकारी तथा स्थानीय स्तरबाट गरिने बास तथा अन्य ब्यबस्थाहरु अपुग हुने भएकोले यसलाई ब्यबस्थित गर्नमा सहयोग पुरयाउने उद्येश्यले यहाँका निजी बिद्यालयहरुले तिर्थालुहरुको बसाईका लागि आ आफ्नो बिद्यालयको कक्षा कोठाहरु उपलब्ध गराएको थियो ।
मेलामा सहभागी हुन आएका हरुलाई बस्नमा कठिनाई नहोस भनेर यहााका दर्जनौं निजी विद्यालयहरु केही दिन अगावै देखि यसको व्यवस्थापनमा जुटेका थिए ।
निजी विद्यालयहरुको छाता संगठन प्याबसन तथा एनप्याबसनमा आबद्ध विद्यालयहरुले आ–आफ्नो विद्यालयका प्रायः सबै कक्षाकोठाहरु तीर्थयात्रीलाई बास बस्नका लागि उपलब्ध गराएका थिए ।
एनप्याबसन जनकपुरधामका नगर अध्यक्ष दिपक ठाकुरका अनुसार केही वर्षअघिसम्म मेलाको दिन मात्रै तीर्थयात्री आउने गरेकोमा पछिल्लो समय दुई दिन अगावै देखि नै उनीहरु जनकपुरधाम आउने गरेको बताए । तर यहाँ बासको उचित व्यवस्थापन नहुँदा उनीहरुमा निराशा बढेको बताए । उनले अगाडि थपे – यसले यहाँको पर्यटनमा नकारात्मक प्रभाव पड्न सक्छ, त्यसैले हामीहरु पनि आफ्नो तवरबाट सक्दो सहयोग गर्नमा जुटेका हौ । उनका अनुसार करिव १८ हजार तीर्थयात्रीको बास, भोजन र शौचालयको प्रवन्ध मिलाएका थिए ।
पौराणिक कालमा माता सीता र रामको बिवाह भएको स्मरणमा बैबाहिक बर्षगाँठको रुपमा मनाउँदै आएको बिवाहपञ्चमीमा सरिक हुन लाखौको सँख्यामा तिर्थालुहरु जनकपुर आउने गरेका छन ।