२८ मंसिर, जनकपुरधाम । सीताराम विवाहपञ्चमी महोत्सवको तेश्रो दिन आज धनुषयज्ञ कार्यक्रम गरिने भएको छ ।
सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन मंगलबार नगरदर्शन, दोश्रो दिन बुधबार फूलबारी लिला भएको थियो भने आज अपरान्ह ४ बजे जानकी मन्दिरको प्राङ्गणमै बालबालिकालाई राम, लक्ष्मण र सीताको स्वरुप बनाइ धनुष तोडेर धनुष यज्ञ गर्ने कार्यक्रम रहेको मन्दिरका सहमहन्त रामरोशन दासले जानकारी दिए ।
त्रेता युगमा भगवान रामले धनुष यज्ञमा सरिक भएर कसैले उठाउन नसकेको शिव धनुष भाँचेपछि मिथिलाका राजा जनककी छोरी जानकीसित विवाह भएको धार्मिक मान्यता छ । त्यही मान्यता अनुसार आज विवाहपञ्चमीको तेस्रो दिन प्रत्येक वर्ष जनकपुरमा धनुष यज्ञ आयोजन हुने गर्छ ।
रामायणमा वर्णन गरिए अनुसार त्रेता युगमा राजा जनकलाई उक्त शिव धनुष भगवान पर्शुरामले प्रदान गरेका थिए । राजा जनकले उक्त धनुष उचाल्ने व्यक्तिसित मात्र छोरी सीताको विवाह गरिदिने अठोटसहित धनुषयज्ञ आयोजना गरेका थिए । उक्त धनुष कसैले हल्लाउन पनि सकेनन् । तर, अयोध्याबाट आएका भगवान रामले उठाएपछि धनुष टुक्रा भएको रामायणमा वर्णन गरिएको छ । त्यसपछि सीतासंग रामको विवाह भएको धार्मिक मान्यता छ ।
चौथो दिन शुक्रबार तिलकोत्सव, पाँचौ दिन मंसिर ३० गते मटकोर र पुस १ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको विदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत समापन हुने छ ।
जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव मंगलबारदेखि विधिवत रुपमा सुरु भएको छ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ ।
विवाहपञ्चमी महोत्सवमा यस वर्ष ऐतिहासिक रंगभूमि मैदानमा ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमा निर्माण विशेष आकर्षणको रुपमा रहेको छ । विवाहपञ्चमीलाई विश्वमा चिनाउन र विश्व रेकर्डका लागि सीताराम प्रतिमा निर्माण भइरहेको छ ।