२७ मंसिर, जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव मंगलबारदेखि विधिवत रुपमा सुरु भएको छ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ ।
सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन हिजो नगरदर्शन कार्यक्रम भएको छ भने आज आज अपराह्न ४ बजे जानकी मन्दिरको छेउमै रहेको बिवाह मण्डपमा बालबालिकालाई राम, लक्ष्मण र सीताको स्वरुप बनाइ फूल टिपेर फूलबारी लीला गर्ने कार्यक्रम रहेको मन्दिरका सहमहन्त रामरोशन दासले जानकारी दिए ।
तेस्रो दिन बिहीबार धनुष यज्ञ, चौथो दिन शुक्रबार तीलकोत्सव, पाँचौ दिन मंसिर ३० गते मटकोर र पुस १ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको विदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत समापन हुने छ ।
विवाहपञ्चमी महोत्सवमा यस वर्ष ऐतिहासिक रंगभूमि मैदानमा ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमा निर्माण विशेष आकर्षणको रुपमा रहेको छ । विवाहपञ्चमीलाई विश्वमा चिनाउन र विश्व रेकर्डका लागि सीताराम प्रतिमा निर्माण भइरहेको छ ।