३ कात्तिक, काठमाडौं । नेपाल प्रहरीमा साढे तीन सय भन्दा बढी संख्यामा भर्ना खुलेको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २६० जनाका लागि भर्ना खुलेको हो ।
दरखास्त फारम दर्ता मिति कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म तोकिएको छ । प्रहरी निरीक्षक पदको हकमा अनलाइनमार्फत् र प्रहरी सहायक निरीक्षक पदको हकमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्शालले आज निकालेको सूचनामा उल्लेख छ ।
प्रहरी सहायक निरीक्षक पदमा ५०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि २० प्रतिशत (१०० रुपैयाँ)को दरले थप दस्तुर लाग्ने सूचनामा उल्लेख छ ।
प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ ।