१ कातिक, जनकपुरधाम । औषधी उत्पादन गर्ने कम्पनीले विरामीको स्वास्थ्यसँग गम्भीर खेलवाड हुने किसिमले औषधिको उत्पादन तथा बिक्री बितरण गरिएको पाईएको छ ।
मधेश प्रदेशको बारा जिल्लाबाट औषधी उत्पादन गर्दै आएको आर्या कम्पनीको औषधीमा लेदो र किरा फेला परेको हो । बारा जिल्लाको छातापिपरा अवस्थित कम्पनीले गुणस्तहिन औषधी उत्पादन गरी विरामीहरुको स्वास्थ्यसंग खेलवाड गरि रहेको पाईएको छ । आर्या कम्पनीले उत्पादन गरेको ल्यासोमिन सिरपमा सेतो लेदो र किरा फेला परेको छ । धनुषाको बटेश्वर गाउँपालिका बस्ने अरुण सिंहले बटेश्वर गाउंपालिका, चित्रपुर, लवकुश बजार स्थित एक औषधी पसलबाट खरिद गरेको सिल प्याक ल्यासोमिन सिरपमा लेदो र किरा फेला परेको हो । औषधीमा सेतो लेदो र किरा देख्नासाथ स्थानीयले औषधी पसलमा खबर गरेका थिए । खबर गर्दा औषधी पसलले आफूले उत्पादन नगरेको र कम्पनीको गल्ती भएको बताए ।
सिलप्याक अवस्थामा रहेको ल्यासोमिन सिरपको बोतलमा उत्पादन मिति मार्च २०२३ उल्लेख छ । म्याद सकिने मिति अगस्ट २०२४ उल्लेख रहेको बोतलको ब्याच नम्बर एफ एल एस एल ९००४३ रहेको छ । औषधीमा लेदो र किरा परेको बारेमा कम्पनीका म्यानेजर दिपेन्द्र झालाई जानकारी गराउँदा औषधीमा लेदो र किरा भेटिनु सामान्य कुरा भएको बताए । उनले भने यो मेरो कम्पनीमा मात्रै हैन अन्य कम्पनीमा समेत यस्तो समस्या आइरहन्छ, तपाईंलाई हाम्रो कम्पनीको औषधी मन नपरे नकिन्नुस् भन्दै गैर जिम्मेवारपुर्ण तरिकाले जवाफ फर्काए । तपाईलाई जे मन लाग्छ गर्नुस्, कम्पनीमाथि मुद्दा हाल्नुस् भन्दै गैरजिम्मेवारीपूर्ण रबैया देखाएका छन् ।
यसरी आम उपभोक्ता तथा बिरामीको स्वास्थ्य सँग खेलबाड हुने किसिमले औषधिको बिना रोकटोक बिक्री बितरण भै राख्दा पनि सम्बन्धित निकाय मौन छ । सम्बन्धित निकायले समय समयमा चेकजाँच र अनुगमन नगर्दाको परिणाम औषधि उत्पादक कम्पनीले मनोमानी ढँगले जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने किसिमले औषधिको उत्पादन गरी निर्वाध रुपमा बजारमा पठाउने गरेको छ । यसबाट ओषधि उत्पादन कम्पनीहरुमा अनुसन्धान फितलो रहेको पुष्टि हुन्छ ।