बलिउड फिल्म ‘आदिपुरुष’ को निर्माणले अहिले नेपालमात्र होइन भारतलाई समेत तरंगित बनाइदिएको छ। धार्मिक मान्यता बोकेको रामायणमा आधारित ‘आदिपुरुष’ मा देखाइएको विषयवस्तु र संवाददहरुले हिन्दू धर्मावलम्बी आहत हुनु स्वाभाविक पनि हो।
रामायण मर्यादा पुरुषोत्तम भगवान श्रीराम र जग्गजननी मातासीताको जीवनमा आधारित हो भन्ने विषयमा कसैको दुईमत हुन सक्दैन।
धर्मग्रन्थहरूका अनुसार त्रेता युगमा अयोध्याका राजा दशरथको पुत्रका रूपमा भगवान श्रीरामको जन्म भएको हो भने जगतजननी मातासीता को जन्म मिथिला को धर्तिबाट भएको हो।
फिल्म ‘आदिपुरुष’ मा सीतालाई भारतको पुत्री भनेर समावेश संवादले नेपालीलाई दुखित तुल्याउनु स्वभाविक पनि हो। किन भन्ने रामायणमा उल्लेख गरिएको त्रेता युगकालीन मिथिलाको राजधानी जनकपुरधाम हाल मधेश प्रदेशको राजधानी छ।
हुनत राम र सीतालाई नेपाली वा भारतीय भनेर ‘भागबन्डा’ लगाउन मिल्दैन। किनभने, त्रेता युगमा नेपाल र भारत भन्ने मुलुक नै थिएन। त्यो बेला अयोध्याय र मिथिला आफैंमा सार्वभौम र समृद्ध राज्य रहेको धर्मग्रन्थहरुमा उल्लेख छ।
फिल्म ‘आदिपुरुष’ मा ‘सीता भारतकी बेटी हुन्’ भन्ने संवाद छिराइएपछि नेपालमा सुरू भएको विवादलाई अन्यथा ठान्न कदापि मिल्दैन। किनभने सीता नेपालका विभिन्न राष्ट्रिय विभूतिमध्ये एक हुन् भने राजा जनकको भूमि भनिने जनकपुरधाम मधेश प्रदेश को राजधानी समेत हो।
‘आदिपुरुष’ फिल्मको संवादलाई लिएर काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले विरोध जनाउँदा फिल्म निर्माताले उक्त संवादलाई नेपालभरका सिनेमा हलमा ‘म्युट’ गरेर प्रदर्शन गर्ने निष्कर्षमा पुगे।
हुनत महानगरका प्रमुख साहले यो संवादलाई लिएर आपत्ति जनाउनुअघि नै सेन्सर बोर्डले विरोध जनाइसकेको थियो। र, ‘सीता भारतकी बेटी हुन्’ भन्ने वाक्यांश नहटाउँदासम्म फिल्म प्रदर्शनका लागि अनुमति नदिने निष्कर्षमा सेन्सर बोर्ड पुगिसकेको थियो।
यद्यपि यो विषयमा सेन्सर बोर्डले चालेको कदमभन्दा बढी नगर प्रमुख साहले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको धारणाले बढी ‘वाहवाही’ लुट्यो।
नेपालमा मात्रै नभएर भारतमा समेत यो संवाद हटाउनुपर्ने अडान राखेका साहले यतिबेला काठमाडौंमा कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने निर्णय गरिसकेका छन्।
उनको यो निर्णयपछि काठमाडौंमा हिन्दी फिल्मको प्रदर्शनमा बन्देज लागेको छ। उनको यो निर्णयप्रति आपत्ति जनाउँदा चलचित्र वितरक संघ सर्वोच्च अदालतको सहारा लिने बताएका छन्।
‘आदिपुरुष’ को एउटा संवादले जन्माएको विवादले यतिबेला सामाजिक सञ्जालका भित्ताहरूमा राम्रै स्थान पाएको छ। विवादित बनेको यो विषयबारे सामाजिक सञ्जालहरूमा निकै चर्चा परिचर्चाहरू भइरहेका छन्।
माता सीताको जन्मसम्बन्धमा थुप्रै किम्बदन्तीहरु प्रचलित छन्। हुनत तुलसी दास रचित रामायणमा सीताजन्म को प्रसंग उल्लेख छैन। तैपनी किम्बदन्तीलाई आधार मान्ने हो भन्ने सीताकोजन्म धर्तीबाट भएको मानिन्छ।
भनिन्छ– मिथिलामा ठुलो अनिकाल परेको थियो। अनिकालले मिथिला आक्रान्त भइसकेको थियो। राजा जनकले विद्वान, गुरु पुरोहितहरु को सभा डाके। र, अनिकालबाट मुक्ति पाउने उपाय सुझाउन आग्रह गरे। त्यही सभाबाट राजा जनकलाई हलीयज्ञको आयोजना गर्न सुझाव आयो।
राजा जनकले विद्वान पुरोहितहरूको सुझावअनुसार यज्ञ आयोजन गरे। राजा आफैंल् हलो जोत्न सुरू गरेपछि साढे दुई मोड पुग्दा हलो को नासो अड्कियो र त्यसलाई उत्खनन गर्दा माटो को भाँडो ‘घैटो’ बाट माता जानकी बालरूपमा प्रकट भइन् र मिथिलाले अनिकालबाट मुक्ति पायो।
यही किम्बदन्तीलाई आधार मानेर केही विद्वानहरुले राजा जनकले हलो जोत्दा सीता प्रकट भएकी स्थल विहारस्थित सीतामढ़ीको पुनौराधाम रहेको भनेका छन् र यही तर्कलाई आधार मानेर सीता भारतीय छोरी रहेको दाबीसमेत गरि रहेका छन्।
२०० वर्ष पूर्वसम्मका धर्मग्रन्थहरुमा सीताको जन्म मिथिलामा भएको र मिथिलाको राजधानी जनकपुर रहेको उल्लेख पाइन्छ। ती धर्म ग्रन्थमा सीतामढी वा पुनौराधामको उल्लेख कहीँ कतै पाइँदैन।
हाल सीतामढीको पुनौराधामलाई सीता ‘प्राकट्य’ स्थली को रूपमा चित्रण गर्दै भारत र विहार सरकारले करोडौको लगानी गरेको छ। तर सीतामढीको पुनौराधाम नै सीता ‘प्राकट्य’ स्थली हो भनेर प्रमाणित गर्न सकेका छैनन् र पंक्तिकार पनि यो तथ्यबाट सहमत छैन।
प्रश्न उठ्छ– त्यसोभए माता सीताको जन्म थलो कहाँ हो त?
हुनत यसबारे विस्तृतरूपमा पुरातत्विक खोज भएको छैन। तर पनि धर्मग्रन्थहरूमा उल्लेख विषयवस्तु र किम्बदन्तीहरुको आधारमा प्राकट्यस्थलीको विषयमा केही कुरा राख्ने जमर्को गरेको छु।
धर्मग्रन्थहरुमा उल्लेखित मिथिला, राजधानी जनकपुर र किम्बदन्तीहरुमा उल्लेख हलीयज्ञ जस्ता विषयलाई विश्लेषण गर्ने हो भन्ने सीता प्राकट्यस्थलीको रूपमा तत्कालिन राजधानी कै सीमा क्षेत्रमा रहेको महोत्तरी गाउँ पालिकास्थित सीता कुण्ड नै माता जानकीको जन्मस्थली रहेकोमा बलियो तर्क प्रस्तुत गर्न सकिन्छ।
अनिकालबाट मुक्ति पाउन राजा जनकलाई विद्वान पुरोहितहरुले राजधानीको पश्चिमी सीमामा दुई नदीको बीचमा हलीयज्ञको आयोजना गर्न सुझाव दिएको किम्बदन्तीहरुमा प्रसस्तै पाइन्छ।
त्यसोभए सबैभन्दा पहिले त्रेताकालीन मिथिलाको राजधानी जनकपुरधामको सीमा निक्र्यौल गर्नु आवश्यक हुन्छ। जनकपुरको सीमाका विषयमा सबै विद्वान र ग्रन्थहरूको एकमत देखिन्छ।
जनकपुरको चारैतिर रहेका शिव मठहरुलाई आधार मान्ने हो भने अहिलेको मिथिला माध्यमिकी परिक्रमा क्षेत्र नै तत्कालीन जनकपुरको सीमा रहेकामा कुनै दुइमत देखिँदैन। त्यसोभए तत्कालीन राजधानी जनकपुरको सीमा क्षेत्रमा धनुषा, महोत्तरी र भारत विहार ‘मधुबनी’ जिल्लाको १०–१५ किलोमिटर भू–भाग पर्न आउँछ।
राजा जनकले विद्वानहरुको सुझावअनुसार राजधानीको पश्चिमि सीमामा दुई नदीबीचको भू–भागमा हली यज्ञको आयोजना गरेका थिए। तसर्थ तत्कालीन जनकपुरको पश्चिमि सीमा रातु र ओक्सी नदीको बीचमा रहेको महोत्तरी गापा र बलवा नपाको सीमामा अवस्थित सीता कुण्ड नै माता सीताको वास्तविक जन्म स्थली रहेको दाबी गर्न सकिन्छ।
हिन्दु धर्मको जातीय व्यवस्थामा सुद्र जातिलाई कृषिकर्मको जिम्मेवारी दिइएको देखिन्छ। त्यस अनुरूप राजा जनकले हली यज्ञको आयोजना गर्दा सुद्रहरूकै स्वामित्व रहेको जग्गामा हलो चलाएको हुनु पर्ने र हली यज्ञवाट सीता प्राकट्य भएपछि त्यही समुदाय लाई त्यो भू–भागको संरक्षणको जिम्मा दिएको हुनुपर्छ।
यस आधारलाई समेत मनन् गर्ने हो भने पनि सीता कुण्डको मठाधीश शुद्ध वर्णमा पनि हाल दलित मानिने दुसाद समुदायका व्यक्ति परापूर्व कालदेखि नै उक्त मठका मठाधीश रहँदै आएको र हाल पनि छन्।
माता सिता प्रकट भएकी कुण्डलाई नै सीता कुण्ड भनिएको हो र हाल पनि संरक्षित छ।
अर्को प्रसंग लाई नियाल्ने हो भन्ने जनकपुरमा हाल रहेको जानकी मन्दिरको निर्माण टिकमगढकी महारानी बृषभानु कुँवर ले सन १८९४ देखि १९११ मा गर्न लगाएकी थिइन्। त्यो बेला हालको नेपाल–भारतको सीमांकन भइ सकेको थियो।
सीतामाताको वास्तविक प्राकट्य स्थली सीतामढी नै भएको भए नेपाली भू–भागमा भव्य मन्दिरको निर्माण बृषभानुले पक्कै पनि जनकपुरमा गराउँदैन थिइन्। उनले सीतामढीमै उक्त मन्दिरको निर्माण गराउँथिन। तर, त्यस्तो गरिनन् किन भने त्या बेलासम्म मातासीताको जन्मस्थलीको रूपमा सीतामढीको चर्चा नै थिएन।
जानकी मन्दिरको निर्माण पश्चात सुनियोजित ढंगले सितामढीको चर्चा गर्न थालिएको हो जुन तर्क संगत देखिँदैन।
अर्थात धर्मग्रन्थ र प्रचलित किम्बदन्तीहरुलाई आधार मान्ने हो भने मातासीताको जन्मस्थली हाल महोतरी जिल्लाको महोत्तरी गापा– ५ स्थित सीता कुण्ड नै रहेको मान्नु पर्दछ।
हाल संरक्षित रहेको उक्त सीताकुण्डको पुरातात्विक उत्खनन् र थप प्रमाणहरुको संकलनका लागि तिनै तहका सरकार लाई अघि बढ्नु र जनस्तरमा प्रचारप्रसार गर्नु आजको आवश्यक्ता रहेको छ।