७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका भारतीय सुरक्षाकर्मीलाई हटाउन पहल गर्न सरकारसँग माग गरेका छन् । नेपाली भूमिमा भारतले सुरक्षाकर्मी राखेर हवाइ यात्रुको खानतलासी गर्ने गरेको सांसद ढकालको भनाइ थियो ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद ढकालले हवाई यात्रुलाई नेपाली सुरक्षा निकाय र विमानस्थल प्रशासनले सुरक्षा पास गरेपछि पनि एयर इन्डियामा जानु पहिले भारतीय सुरक्षाकर्मीले शरीरको खानतलासी गर्ने गरेको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सुरक्षाकर्मीको उपस्थितिले सार्वभौम राष्ट्रमाथि प्रश्न उठ्ने काम गरिरहेको उनको भनाइ थियो ।
‘केही हप्ता अगाडि छिमेकी मित्रराष्ट्र भारतको अयोध्यामा आयोजित एक कार्यक्रममा भाग लिन जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सुरक्षाकर्मीको सबै सुरक्षा पास गरेर एयर इन्डियामा चढ्नभन्दा अगाडि भारतीय सुरक्षाकर्मीहरूबाट शरीरको खानतलासी गर्ने काम भयो । सर्वसाधारणबाट मात्रै भएन नेपाली कूटनीतिज्ञको लागि पनि भयो,’ उनले भने, ‘सार्वभौमसम्पन्न राष्ट्रको लागि यो कति स्वाभाविक विषय हो ? प्रधानमन्त्री भारत भ्रमण गर्न जाँदै हुनुहुन्छ, नेपालको अन्तर्राष्ट्रिय एयरपोर्टबाट भारतीय सुरक्षाकर्मीलाई हटाउनका लागि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका भारतीय सुरक्षाकर्मीलाई हटाउन पहल हुनपर्ने धारणा सांसद ढकालले माग राखेका हुन् ।