२ जेठ, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसाका दरले घटेर मूल्यसूची आएको निगमले जनाएको छ ।
आईओसीले निगमलाई १५–१५ दिनमा अर्थात अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँछ । सोअनुसार आईओसीले १५ दिनअघिको तुलनामा मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । आईओसीले आफ्नो लागत तथा कच्चा तेलको मूल्यका आधारमा नयाँ मूल्यसूची पठाउँछ ।
सो अनुसार निगमले नेपालमा पनि मूल्य समायोजन गर्नुपर्नेमा सञ्चिति नोक्सान देखाउँदै निगमले मूल्य समायोजन गरेको छैन । हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।
भारतले पटक पटक मुल्य घटाएर पठाउँदा समेत आयल निगमले घाटा देखाउँदै मुल्य समायोजनमा कन्जुस्याँई गर्दै आएको छ तर भारतबाट १ रुपियाँ मुल्य बढेर आएपनि नेपालमा कम्तीमा पनि ३ देखि ५ रुपियाँसम्म मुल्यबृद्धि गर्ने गरेको पाईएको छ । यतिका मुल्य बढाउँदा समेत आयल निगमले आफुलाई सधै घाटामा रहेको सुचना मार्फत जानकारी दिने गरेको छ ।