२९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मेडिकल व्यवसायीसँग २ करोड मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ ।
बुधबार बसेको बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको हो । यससँगै उनको सांसद पद जाने भएको छ ।
श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । जनवरीमा भएको उक्त सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए ।
यो अडियो सार्वजनिक भएपछि रास्वपाको अनुशासन समितिले श्रेष्ठसँग स्पष्टीकरण सोधेको थियो । बुधबार केन्द्रीय समितिको बैठकमा समेत उनलाई बोलाएर सोधिएको थियो ।
बैठकमा श्रेष्ठले अडियो आफ्नो होइन भनेको सभापति रविले बताए । उनले अघि भने, ‘पार्टीले गरेको छानबिनमा त्यो अडियो उहाँकै हो, त्यसमा पैसा मागिएको छ । सांसदले त्यसरी माग्नु कारबाहीका लागि यथेष्ट छ ।’
उनले श्रेष्ठले पटकपटक बोली फेरेको र बार्गेनिङमा उभिएको आरोप समेत लगाए । उनले अघि भने, ‘पार्टीले नगरिदिओस्, गर्यो भने म देखाइदिन्छु भन्नुभएको छ ।’
रास्वपाले ढाकाकुमारको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने
रााष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गरेपछि उनको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ ।
बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले डा. श्रेष्ठको साधारण सदस्यता खारेज गरेको हो । पार्टीको सदस्य नरहेपछि श्रेष्ठको सांसद पद पनि रहने छैन ।
समानुपातिक पद्धतिबाट निर्वाचित भएकाले रास्वपाले श्रेष्ठको ठाउँमा अर्को व्यक्तिलाई संसदमा पठाउन पाउँछ ।
सभापति रवि लामिछानेले श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
कंसाकारलाई रास्वपाले २ महिनाअघि केन्द्रीय सदस्य मनोनित गरेको थियो ।
उनीमाथि १० वर्षअघि एसिड आक्रमण भएको थियो । उनीमाथि एसिड छ्याप्ने पुरुषलाई प्रहरीले घटना भएको ६ वर्षपछि पक्राउ गरेको थियो ।