२६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ।
आइतबार एक मिडियाले सार्वजनिक गरेको श्रेष्ठ र प्रसाईंबीच भएको अडियो डिलमा रास्वपाका सभापति रवि लामिछानेको नाम पनि लिइएको छ। आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको अडियोमा सुन्न सकिन्छ। जसमा प्रसाईंले पनि दुई करोड दिने ग्यारेन्टी गरेका छन्।
उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भाग परेको प्रसाईंलाई सुनाएका छन्। त्यस्तै उनले तत्काल एक करोड भएपनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको प्रसाईंलाई सुनाएका छन्।
अडियोमा श्रेष्ठले भनेका छन् ‘पार्टीको कुरा गर्दा अब यहाँ २/३ जना पहिलै देखि नै पार्टीलाई सहयोग गर्ने हुनुहुन्छ। मैले पैसा आजै फिक्स गर्नुपर्छ, उदारो हुन्न भन्छन। २ साढे दुई भनेका छन्, अब अहिले एक दिए पनि उनीहरू मान्छन् होला। एक दुई दिन पछि चेक दिए पछि मान्छन्। मैले रवि सरलाई भन्दा नी बाहिर २/४ जना साथीहरु हुनुहुन्छ उहाँहरुलाई दिने हो, पार्टीलाई नै जान्छ भनेका छन् क्यारे।’
उनले थपे ‘अब म फेरि आर्थिकमा त्यस्तो साह्रै उ छैन। मन्त्री पनि बन्नुपर्यो। फेरि यो स्वास्थ्य क्षेत्र धोइपखाली गरेर, पूरा सुधार पनि गर्नुछ। मैले धेरै गर्नुपर्छ भनेर सोच गरेको छु। त्यसमा अब हजुरहरूको साथ, सहयोग, चाहियो भन्नेकुरा हो।’
दुर्गाले यस्को जवाफमा भनेका छन् ‘मैले कुरा बुझेँ। सल्लाह गरेर अघि बढौंला। तपाईंसँग मैले भन्न खोजेको। अनि मुकुलहरूले त नलिने भन्थे त स्वास्थ्य र शिक्षा।’
ढाकाले महामन्त्री मुकुललाई यो सब कुरा थाहा नभएको बताए। उनले मुकुल कोर टिममा नरहेको उल्लेख गरे।
उनले भने ‘महामन्त्री जी बाहिर त महामन्त्री नै हो। अब हजुरलाई पार्टीकै कुरा गर्दा दुई/तीन जना छुट्टै हुनुहुन्छ। पार्टीलाई धेरै सहयोग गर्ने, सुरूवाती क्षणदेखि नै सहयोग गर्ने र त्यो टिमबाट मलाई कुरा आएको र आज मैले फिक्स गर्नुपर्छ पैसा, उताबाट हुन्न भन्छन् फेरि।
दुर्गाले बैंकबाट ९ लाख ९९ हजार भन्दा माथिको चेक नसाटिँने बताउँदै भनेका छन् ‘आज फेरि बन्द छ। बैंकबाट ९ लाख ९९ हजार भन्दा माथिको चेक साटिँदैन। अब क्लियर कुरा। म दिन्छु। म सहयोग गर्छु। तपाईंले भनिहाल्नुभयो। भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले।
ढाकाले उनको भनेको काम गर्ने बताउँदै भने ‘हैन त्यो त म गर्छु। तपाईं निश्चिन्त हुनुहोस्। तपाईं म मिलेर काम गर्ने हो।’