२५ साउन, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिभिन्न कार्यक्रमको आयोजना गरी २२ औ अन्तर्राष्ट्रिय युवा दिवस भब्यताका साथ मनाईँदैछ ।
महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्लान ईन्टरनेशनल नेपाल र सामुदायिक परिवार कल्याण संघ धनुषाको आर्थिक सहयोग र स्थानिय बिभिन्न सरोकारवला संघ संस्था लगायत करीब डेढ दर्जन भन्दा बढी गैर सरकारी संस्थाहरुको समन्वयमा साप्ताहिक रुपमा सो दिवस मनाईदैछ ।
अगस्ट १२ तारिख अर्थात साउन २७ गते मनाईने २२ औ अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर साप्ताहिक रुपमा मनाउने भनिएको दिवसको पहिलो दिन बुधबार बिहानै दखि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ ।
सो दिवसको पहिलो दिन बिहान जानकी मन्दिरको प्राङ्गणबाट सयौको संख्यामा युवाहरु भेला भई ब्यानर र प्ले कार्ड बोकी प्रभात फेरी कार्यक्रम सम्पन्न गरेको छ । युवा, महिला, नर्स, सुरक्षाकर्मी तथा नागरिक समाजको सहभागिता रहेको सो प्रभातफेरी जनकपुरधामको जानकी मन्दिरबाट शुरु भई जनक चौक, शिव चौक, भानु चौक हुदै मन्त्रालय पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका मन्त्री बिरेन्द्र सिँहले शुभकामना मन्तब्य राख्नुभएको थियो । त्यस्तै सो कार्यक्रममा मन्त्रालयका अधिकृत झम्केश्वर ओझाले समेत आफ्नो मन्तब्य राख्नुभएका थियो भने सामुदायिक परिवार कल्याण संघ धनुषाका कार्यकारी निर्देशक मिथलेस साहले वर्तमान अवस्थामा युवाहरुको सहभागिता, भुमिका र युवाहरुले अपनाउनुपर्ने सचेतनाका बिषयमा प्रकाश पार्नुभएको थियो ।
त्यस्तै यसै अवसरमा आजै मन्त्रालयकै प्राङ्गणमा रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ । रेडक्रस सोसाईटीको सहयोगमा संचालित उक्त रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन ।
यस्तै, साप्ताहिक कार्यक्रम अन्तर्गत स्थानिय टेलिभिजनहरुमा युवा सम्बन्धी डकुमेन्ट्री प्रशारण, ट्राफिक सचेतना कार्यक्रम, जानकी मन्दिरमा दिप प्रज्वलन कार्यक्रम गरिने भएको छ ।