२३ वैशाख, जनकपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच वर्ष सरकार चलाउन नसकेको क्षमायाचना नगरी नेकपा एमालेलाई मत माग्ने आधार नभएको बताएका छन् ।
पाँच वर्षका लागि जनमत पाएको पार्टीले सत्ता सञ्चालन गर्न नसकेकै कारण कांग्रेसको नेतृत्वमा सरकार बन्नु बाध्यात्मक अवस्था भएको उनले बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई परमादेशको सरकार भनी आलोचना गरिरहँदा यो अवस्था कसले ल्याएको भनेर उनले प्रश्न गरे । ‘परमादेश सरकार ओलीले भनिरहँदा कांग्रेसले सोध्नै पर्दछ । यो बनाउने काम कसले गरेको हो ?’ थापाले भने, ‘सरकार हाम्रो प्राथमिकतामा थिएन । सरकार चलाउने हामीलाई म्याण्डेट दिइएकै थिएन ।’
तत्कालीन नेकपाका लागि सर्वाधिक अनुकूल समय हुँदा समेत आफ्नै कारणले संसद विघटन गरिएको उनले बताए । ‘संसद विघटन विशुद्ध पार्टी भित्रको कारण हो ।
प्रतिपक्षमा बसेको कांग्रेसलाई आग्रह गरेर सरकार बनेको हो,’ थापाले भने, ‘२०७४ देखि २०७९ सालसम्मको अवधि खेर गएको छ । हामीले जनतालाई बुझाउनैपर्छ । त्यो बेलाको सम्झना गराउनै पर्दछ ।’