३० कात्तिक, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
जनताले न्याय नपाउनुको कारण प्रधानन्यायाधीश नै भएको भन्दै उनले जबराले अविलम्ब निकास दिनुपर्ने बताए ।
आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा महतोले भने, ‘नेपाली जनताले न्याय पाइरहेको छैन, अदालत चलिरहेको छैन । अदालतको न्यायाधीश लगायत सारा कानून व्यवसायी आन्दोलनमा छ । सेटिङमा देश चलिरहेको छ । त्यसको जिम्मा प्रमुख प्रधानन्यायाधीशले लिनुपर्छ ।’
न्यायालय फेल हुनु भनेको देश फेल हुनु हो भन्दै महतोले भने, ‘यो अवस्था आउन दिनुहुन्न । अविलम्ब यसको निकास दिनुपर्छ । न्यायायलयजस्तो संस्थाको गरिमालाई बचाउन अविलम्ब उहाँले (प्रधानन्यायाधीशले) निकास चाहिं दिनुपर्छ ।’
‘प्रधानन्यायाधीश आफैं दोषी त छँदै हो किनभने त्यो कुर्सीमा बसेपछि सेटिङमा फैसला गर्न मिल्दैन,’ महतोले भने, ‘प्रधानन्यायाधीशको राजीनामा माग्या हो, राजीनामा गर्नुपर्छ ।’
कांग्रेस, एमाले र माओवादीले एकल जातीय सोच र चिन्तनबाट देश सन्चालन गरिरहेको भन्दै उनले बहुराष्ट्रिय राज्यको रुपमा शासन र संविधान नचलाएसम्म यस्ता समस्या आइरहने बताए ।